Live Streaming

​भुकम्पले झण्डै ९ अर्ब रुपैयाँको कृषि उपज नाश


काठमाडौं, २७ बैशाख । बैसाख १२ गतेको भुकम्पले झण्डै ९ अर्ब रुपैयाँको कृषि उपज नाश गरेको तथ्याङ्क सार्वजनिक भएको छ । संसदको कृषि तथा जलस्रोत समितिमा कृषि मन्त्रालयले पेश गरेको प्रारम्भीक तथ्याङक अनुसार कृषि क्षेत्रमा झण्डै ९५ करोडको भौतिक संरचनाको क्षति पुगेको छ ।

मन्त्रालयले भूकम्पवाट २३ जिल्लमा पशुधन तर्फ ८ हजार ३१ ठूला पशु, १४ हजार ४ सय ९५ साना पशु र १ लाख ४७ हजार २ सय २२ पंछी समेत गरि ६३ करोड वरावरको क्षति भएको र खाद्यान्नतर्फ ४० जिल्लामा १ लाख ३५हजार १ सय ८७ मेट्रिक टनको करिव रु ८ अर्व ११ करोड ११ लाख ९१ हजार वरावरको क्षति भएको जनाएको छ । यस्तै कृषि क्षेत्रको भौतिक संरचनातर्फ करिव ९५ करोड वरावरको क्षति भएको प्रारम्भिक जानकारी पनि मन्त्रालयले दिएको छ ।

यसैबीच समितिले भूकम्पवाट कृषि क्षेत्रमा भएको क्षतिको व्यवस्थित र विस्तृत अध्ययन गरि अविलम्व त्यसको विवरण तयार गर्न मन्त्रालयलाई निर्देशन दिएको छ ।  

साथै समितिले भूकम्पवाट भएको क्षतिलाई सम्बोधन गर्ने सन्दर्भमा भूकम्प प्रभावित क्षेत्र र पिडित किसानलाई राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि मन्त्रालयले तयार गर्न लागेको अल्पकालिन, मध्यकालिन र दीर्घकालिन कार्ययोजनामा बुझाउन पनि मन्त्रालयलाई निर्देशन दिएको समितिका सभापति गगन थापाले जानकारी दिनुभयो ।