संकल्प प्रस्ताव कार्यान्वयन हुनेमा सत्तारुढ सभासदकै आशंका
काठमाडौं, २७ बैशाख । सभासदहरुले भुकम्पपिडितलाई संबोधन गर्न ल्याइएको संकल्प प्रस्ताव कार्यान्यनमा गम्भीर आशंका व्यक्त गरेका छन् । व्यवस्थापिका संसदको बैठकमा आज बोल्ने सभासदहरुले राहत, पुनस्थापना र पुननिर्माणका बेला ठूलो आर्थिक चलखेल हुनेतर्फ पनि सरकारको ध्यानाकर्षण गराए । विशेषगरी भुकम्प प्रभावित जिल्ला सिन्धुपाल्चोक, काभ्रे, गोरखा, नुवाकोट, धादिङ लगायतका सभासदहरुले संकल्प प्रस्ताव कार्यन्वन हुनेमा आशंका रहेको बताएका छन् ।
भुकम्पपछि ती जिल्लाहरुमा राज्यको उपस्थिति हुन नसकेको भन्दै उनीहरुले सरकारको आलोचना गरेका हुन् । बैठकमा कांग्रेस सभासद अर्जुन नरसिंह केसीले सरकारले तत्काल ६ देखि ७ अर्व रुपैया व्यवस्था गरी प्रत्येक घरलाई दुई बण्डल जस्ता दिएर भएपनि भरपर्दो अस्थायी वासस्थानको व्यवस्था गर्नु पर्ने माग गर्नुभयो । चालु आर्थिक बर्षकै बजेट खर्च गर्न नसकेको सरकारले संकल्प प्रस्तावका बुँदाहरु कार्यान्वयन गर्न नसक्ने उहाँको भनाई थियो ।
एमालेका सभासद अमृतकुमार बोहोराले राष्ट्रिय विपत्तीको सामना गर्न संकल्प प्रस्ताव आए पनि कार्यान्वयनमा भने शंका रहेको बताउनुभयो । बोहराले यो अबस्थामा राहत, पुनस्र्थापना र पुननिमार्णलाई प्रभावकारी बनाउन सर्बदलिय राष्ट्रिय सरकार बनाउनुपर्ने धारणा राख्नुभयो ।
एमाओवादीका अग्निप्रसाद सापकोटाले खाद्यान्न र राहत राहतका लागि मन खुकुलो र उदार बनाउनुपर्ने बताउनुभयो । भुकम्प प्रभावित क्षेत्रका सभाषदहरले बोल्ने क्रम जारी रहेको छ ।
बिनाशकारी भुकम्प गएको १५ दिनपछि दलहरुले हिजो २७ बुँदे संकल्प प्रस्ताव सदनमा प्रस्तुत गरेका थिए ।