राष्ट्रिय सरकार आवश्यक रहेको एमाले सचिव ज्ञवालीको भनाई
काठमाडौं, २७ बैशाख ।
एमाले सचिव प्रदीप ज्ञवालीले राष्ट्रिय बिपत्तिमा एक साथ अगाडि बढ्न सहमतीय सरकार आवश्यक रहेको बताउनुभएको छ । रेडियो अन्नपूर्ण नेपालको नियमित कार्यक्रम अन्नपूर्ण फ्रण्टलाईनमा आज बिहान कुरा गर्दै सचिव ज्ञवालीले दलहरुबीच एकता कायम गर्न सहमतीय सरकारको आवश्यकता औल्याउनुभयो । संविधान निर्माण तथा संसदीय गतिबिधिमा यसअघि देखिएको दलीय ध्रुबिकरण, भुृकम्पपछिको अवस्थामा अन्त्य भएको दावी गर्दै उहाँले यसलाई थप बलियो बनाएर लैजानु पर्नेमा उहाँको जोड थियो । राष्ट्रिय सहमतिको सरकारको नेतृत्वबारे बोल्नु हतार हुने उल्लेख गर्दै सचिव ज्ञवालीले त्यसकालागि एमाले समेत खुल्ला रहेको बताउनुभयो ।
संसदमा हिजो प्रस्तुत भएको संकल्प प्रस्ताव कार्यान्वयन चूनौतीपूर्ण रहेको उल्लेख गर्दै ज्ञवाललीले दलहरु एक भएर प्रस्तुत भए राष्ट्र निर्माणमा समय नलाग्ने दावी गर्नुभयो । संकल्प प्रस्ताव कार्यान्वयनमा सरकारले नेतृत्व लिनु पर्ने र त्यसका लागि सवै दल, उसका जिल्ला, क्षेत्र र गाउँ कमिटिहरुको समेत भूमिका महत्वपूर्ण हुनु पर्ने नेता ज्ञवालीको भनाई थियो । भुकम्प पीडितहरुका लागि राहत तथा पुनस्थापनामा राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिबद्धता अपरिहार्य रहेको चर्चा गर्दै उहाँले अन्तरारष्ट्रिय क्षेत्रबाट आएको उच्चस्तरिय चासोलाई तत्काल सम्बोधन गर्दै अगाडि बढ्नु पर्ने खाँचो औल्याउनुभयो । राष्ट्र निर्माणका लागि अरबौं रकम आवश्यक पर्ने भएकाले अनियमितता हुन नदिने हरेक तह र तप्का सचेत हुनु पर्ने उहाँको भनाई थियो ।