संकल्प प्रस्तावमाथि आज पनि छलफल हुृने
काठमाडौं, २७ बैशाख ।
भुकम्प पीडितहरुका लागि राहत, पुनस्थापना र पुर्ननिर्माण सम्बन्धी ब्यवस्थापिका संसदमा प्रस्तुत भएको साझा संकल्प प्रस्तावमाथि आज पनि छलफल हुदैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । आजको छलफलमा भुकम्प प्रभावित जिल्लाका सांसदहरुले धारणा राख्ने संसद सचिवालयले जनाएको छ ।
प्रस्तावक तथा समर्थकहरुले भने हिजैको बैठकमा आ–आफ्नो धारणा राखिसकेका छन् । बिनाशकारी भुकम्प गएको १५ दिनपछि दलहरुले २७ बुँदे संकल्प प्रस्ताव हिजो सदनमा प्रस्तुत गरेका थिए । नेपाली कँग्रेस, एमाले र एकीकृत माओवादीले प्रस्तुत गरेको सो प्रस्तावमा संसदमा प्रतिनिधित्व गर्ने सवै ३१ दलको समर्थन छ । सभामुख सुवास नेम्बाङ्गले राष्ट्रिय बिपत्तिमा आएको प्रस्ताव भोली नै पारित गर्ने तयारी गर्नुभएको छ ।
पीडितहरुका लागि राहत, पुनस्थापना र पुर्ननिर्माणलाई राष्ट्रिय अभियानका रुपमा सञ्चालन गर्ने प्रमुख लक्ष्य सहित ल्याईएको प्रस्तावमा घर ध्वस्त भएकाहरुलाई सरकारले बनाईदिने वा सहलियत रुपमा रकम उपलब्ध गराउने, एकीकृत बस्ती बिकासको योजना तयार पार्ने, सार्वजनीक महत्वका भवन पुननिर्माण नभएसम्म बैकल्पिक अस्थायी ब्यवस्था गर्ने लगायत बिषय सो प्रस्तावमा समेटिएका छन् ।
त्यसका लागि आवश्यक रकम, समायावधि र जनशक्तिको ठोस आंकलन गरी अभियान सम्पन्न गर्न समयतालिका नै बनाउने र कार्यान्वयन अनुगनमका लागि संसदीय समिति गठन गर्ने उल्लेख छ । अभियान सञ्चालनका लागि अरबौं रकम आवश्यक पर्ने भन्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा उच्चस्तरिय पहल गर्ने योजना समेत दलहरुले प्रस्तावमा समेटेका छन् ।