भुकम्पका क्रममा ज्यान गुमाएकाको छोराछोरीले निशुल्क पढ्न पाउने
काठमाडौं, २५ बैशाख । प्रधानमन्त्री सुशील कोइरालाले वैशाख १२ को विनाशकारी भूकम्पबाट पीडित बनेका नागरिकलाई पुनस्स्थापना गर्नका लागि सरकारले विशेष कार्यक्रम ल्याउने बताउनुभएको छ ।
ब्यवस्थापिका संसदको बैठकमा विशेष सम्बोधन गर्दै कोइरालाले भूकम्पबाट भएको विध्वंशको पुनस्निर्माणका लागि सरकारले दातृनिकायको सम्मेलन चाँडै गर्ने बताउनुभयो ।
कोइरालाले भूकम्पबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई एक लाख रुपैयाँ राहत जानकारी पनि गराउनुभएको छ । त्यसैगरी सरकारले पूर्णरुपमा घर ध्वस्त भएका परिवारलाई २ लाख रुपैयाँ राहत दिने भएको छ ।
उहाँले भूकम्पले ध्वस्त संरचना आगामी पाँच बर्षभित्रमा पुननिर्माण गरिसक्ने पनि बताउनुभयो ।
भूकम्पबाट आंशिकरुपमा भत्केका घरको मर्मतका लागि सरकारले २५ हजार रुपैयाँ दिने भएको छ । संबोधनका क्रममा कोइरालाले ज्यान गुमाएकाका छोराछोरीलाई निशुल्क पढ्ने व्यवस्था बताउनुभयो ।
उहाँले भूकम्प पीडितलाई परिचयपत्र दिइने र भूकम्पका बेला कालो बजारी गर्नेहरुलाई कारबाही गर्न पनि सरकार क्रियाशिल रहेको जानकारी पनि संसदलाई गराउनुभएको छ ।
कोइरालाले राजनीतिक दलहरुलाई भूकम्प पीडितलाई राहत र पुननिर्माणमा परिचालन हुन सरकार आह्वान गरेका छन् ।
बैठकलाई सम्बोधन गर्दै प्रम कोइरालाले भूकम्प पीडित बालबालिकालाई आश्रय र खाद्यान्नको व्यवस्था गर्न सरकार अग्रसर रहेको बताए ।
’भूकम्प पीडितलाई खाद्यान्नको अभाव हुन नदिन र बालबालिकालाई कुपोषण हुन नदिनेतर्फ सरकार गम्भीर रहेको भन्दै उहाँले आश्रय गुमाएका बालबालिकालाई बासको व्यवस्था गर्ने र उनीहरुका विद्यालय यथाशक्य चाँडो पुनस्निर्माणमा सरकार केन्द्रित हुने जानकारी गराउनुभयो ।
भूकम्पले ध्वस्त भएका गाउँ टोल निर्माणका लागि देश तथा विदेशका संघ संस्थाले चासो दिइरहेको जनाउँदै प्रम कोइरालाले टोल बस्ती निर्माणका लागि सरकारले कार्ययोजना बनाइरहेको प्रधानमन्त्रीको भनाई छ ।