मृत्यु हुनेको संख्या ७,८८५ पुग्यो
काठमाडौं, २५ बैशाख ।
महाबिनासकारी भुकम्पमा परी मृत्यु हुनेको संख्या विहान दश बजेसम्म ७ हजार ८ सय ८५ पुगेको छ । गृह मन्त्रालयका अनुसार १५ हजार नौ सय ११ जना घाइते छन ।
हालसम्म सिन्धुपाल्चोकमा सबैभन्दा बढी तीन हजार ३५ जना, काठमाडौंमा १ हजार २ सय १० जना, नुवाकोटमा ९ सय ५० जना, धादिङमा ७ सय २ जना, रसुवामा ४ सय ५९ जना, गोरखामा ४ सय १२ जना, भक्तपुरमा ३ सय १८ जना, काभ्रेमा ३ सय १७ जना, ललितपुरमा १ सय ७४ जना,दोलखामा ७३ जनाको मृत्यु भएको छ ।
त्यसैगरी रामेछापमा २७, सोलुखुम्बुमा २२, ओखलडुंगामा १९, सिन्धुलीमा १०, सुनसरी र चितवनमा ७÷७ जनाको मृत्यु भएको छ । त्यस्तै बारा,पर्सा र लमजुङमा ५÷५ जना,भोजपुर र कास्कीमा २÷२ जना तथा ताप्लेजुङ, धनुषा, सर्लाही, रौतहट, नवलपरासी, तनहुँं, रोल्पा र रुकुममा एक एक जनाको मृत्यु भएको पनि गृह मन्त्रालयले जनाएको छ । यस्तै ७ हजार ८सय ८५ मृतकमध्ये ७ हजार ७ सय ७९ शव आफन्तको जिम्मा लगाइएको छ । अझै १ सय ६ शव बुझाउन बाँकी छ ।
बिभिन्न अस्पतालमा रहेका शवहरुको सनाखतका लागि पहल भइरहेको प्रहरीले जनाएको छ । यस्तै भूकम्पमा परी ३ सय ६६ जना सम्पर्कविहीन छन् । २ सय ५५ जना नेपाली र १ सय ११ जना विदेशी नागरिक हराइरहेका छन् ।