Live Streaming

संकल्प प्रस्तावको मस्यौदा मै अल्झिए दलहरु

रेडियो अन्नपूर्ण नेपाल, काठमाडौं ।
भूकम्प पीडितलाई दिइने राहत तथा उनिहरुको पुनःथापनाका विषयमा साझा धारणा बनाउन शीर्ष तीन दलको बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा संसदमा प्रस्तुत गरिने संकल्प प्रस्तावलाई अन्तिम रुप दिने विषयमा छलफल भईरहेको नेताहरुले जनाएका छन्  । शीर्ष बैठकपछि सर्वदलीय बैठक बस्ने तयारी नेताहरुको छ । प्रमुख दलका शीर्ष नेताहरुको बैठकले तय गरेको साझा प्रस्तावबारे सर्वदलीय बैठकमा समेत  छलफल हुने छ ।

राष्ट्रिय बिपत्तिका समय एक जुट भएर अगाडि बढ्नु पर्ने बताएपनि नेताहरुले संकल्प प्रस्तावमा समावेश गर्ने बिषयमाथि भने सहमति जुटाउन सकेका छ्रैनन् । सत्तापक्ष र विपक्षी दलहरूका आआफ्ना अडानले एकीकृत संकल्प प्रस्ताव बनाउने दलहरूको प्रयास सफल हुने सकेको छैन । विपक्षी दलहरूले भूकम्पबाट ज्यान गुमाएका प्रतिसदस्य तीन लाख, अपांगता भएकालाई एक लाख, घर पूर्ण रूपमा क्षति भएकालाई १० लाख र आंशिक रूपमा घर क्षति भएकालाई पाँच लाख रुपैयाँ दिन प्रस्ताव गरेका छन ।

सरकारले भने त्यती रकम तत्काल नभएको र प्रधानमन्त्री राहत कोषमा समेत रकम जम्मा नभएकाले दिन नसक्ने बताएपछि दलहरुबीच संकल्प प्रस्तावमा सहमति हुन नसकेको वालुवाटार स्रोतको भनाईछ । सत्तापक्ष कांग्रेस र एमालेले भने १० बुँदे धारणा विपक्षीलाई दिएको छ ।


यसैबीच बिहान ११ बजे मन्त्रीपरिषद् बैठक बोलाईएको छ । संसदमा प्रस्तुत गर्ने संकल्प प्रस्तावलाई अन्तिम रुप दिन मन्त्रीपरिषद् बैठक बोलाईएको एक मन्त्रीले जानकारी दिए ।