रसुवामा हराएका १ सय ६३ को खोजी जारी
देवचन्द्र भट्ट, नुवाकोट ।
पर्यटकीय हिमाली जिल्ला रसुवाको लाङटाङमा हिमपहिरोमा परी हराइरहेकाहरुको खोजी जारी छ । हराएका मध्ये हिजोमात्र २४ जनाको शव फेला परेको थियो भने हराईरहेका १ सय ६३ जनाको खोजी भईरहेको स्थानिय प्रसासनले जनाएको छ । योसँगै लाङ्टाङ क्षेत्रबाट मात्र ६ जना बिदेशी सहित ८१ जनाको शव प्राप्त भएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी गौतम रिमालकाअनुसार, लाङटाङमा स्थानीयवासी, पर्यटक र नेपाली सेना गरी एक सय ६३ जनाको शव अझै प्राप्त हुन नसकेको स्थानीय प्रशासनको भनाई छ । उनीहरुको खोजीका लागि नेपाली सेना, ससस्त्र र नेपाल प्रहरीले संयुक्त रुपमा काम गरिरहेका छन् । नारायण दल गणका प्रमुख सेनानी लक्ष्मण थापाका अनुसार, हराईरहेका मध्ये १० जना शैनिक छन् । हिजो प्राप्त शव सिम्रिक एयरको होलिकोप्टरद्वारा काठमाडौ ल्याईएको छ । हिमपहिरोमा लाङटाङमा रहेका ६० घरधुरी समेत पुरिएका छन् भने लाङटाङ राष्ट्रिय निकुन्जको सुरक्षामा स्थापना गरिएको पोष्ट समेत ध्वस्त भएको छ ।
यसैबीच रसुवामा निर्माणाधिन माथिल्लो त्रिशूली १ जलविद्युत आयोजनामा कार्यरत ५० जना मजदुर तथा कर्मचारीको समेत खोजी जारी छ । नुवाकोटको वेत्रावतिदेखि २० किलोमिटर उत्तरमा रहेको हाकु गाविसमा निर्माणाधिन १ सय ११ मेगावाट क्षमताको निर्माणाधिन जलविद्युत आयोजनामा कार्यरत ३६ कामदार र १४ जना कर्मचारी भुकम्पपछि आएको पहिरोमा बेपत्ता भएका हुन् ।