Live Streaming

बिहेभोजको खर्च भूकम्पपीडितलाई

माया अधिकारी

कुस्मा,२४ बैशाख  : पर्वतको एक विवाहित जोडीले बिहेभोजको सम्पूर्ण खर्च भूकम्पपीडितलाई सहयोग गरेको छ। पर्वतको सदरमुकाम कुस्मा निवासी डा. अनुज श्रेष्ठ र वर्षा मर्सानी श्रेष्ठले बिहे भोजमा लाग्ने खर्च विनाशकारी भूकम्पले पीडित भएकालाई सहयोग गरेका हुन्।
 
श्रेष्ठ दम्पतीले पर्वतमा भूकम्पबाट घरबारविहीन भएका परिवारका लागि खर्च गर्ने गरी जिल्ला दैवीप्रकोप उद्धार समितिलाई एक लाख ११ हजार एक सय ११ रुपैयाँ हस्तान्तरण गरेका छन्। 
 
श्रेष्ठले एक कार्यक्रम गरी जिल्ला दैवीप्रकोप उद्धार समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलाई उक्त रकमबराबरको चेक हस्तान्तरण गरे। 
 
अनुजका पिता गणेशमान श्रेष्ठले विवाहमा ककटेल पार्टी गर्ने योजना भएपनि दैवी प्रकोपमा मुलुक परेका बेला पीडितका लागि राहतका रूपमा दिने निर्णय गरेको बताए।
 
'विपत्को समयमा सबै नेपाली शोकमा डुबिरहेका बेला भोजभतेर गरेर रमाउनु सान्दर्भिक नठानेर भूकम्पपीडितलाई सहयोग गरेका हौं', उनले भने, 'ओत नभएका र भोकै रहेका परिवारलाई यसले थोरै भए पनि सहयोग मिल्छ।' उनले अन्यलाई पनि भूकम्पपीडितको उद्धारसँगै सहयोगका लागि अघि बढ्न अनुरोध गरे।
 
अनुजको पोखरा उपमहानगरपालिका ११ निवासी सुरेन्द्रप्रसाद मर्सानीकी छोरी वर्षासँग सोमबार नेपाली रीतिरिवाजअनुसार विवाह भएको थियो। अनुज फिलिपिन्समा रेडियोलोजीमा एमडी गर्दैछन् भने वर्षाले पोखरा विश्वविद्यालयबाट हस्पिटालिटी म्यानेजमेन्टमा स्नातकोत्तर गरेकी छन्। 
 
सहयोग हस्तान्तरण कार्यक्रममा उपस्थित भएका पर्वत क्षेत्र नं. २ बाट निर्वाचित सभासद् विकास लम्साल र एमालेबाट समानुपातिकमा चुनिएकी सभासद् कल्पना चापागाईंले सो कार्यको प्रशंसा गरे।
 
प्रमुख जिल्ला अधिकारी तिवारीले वरवधुलाई शुभकामना प्रदान गर्दै उपलब्ध गराएको राहत रकम पीडितसमक्ष पु:याउने प्रतिबद्धता व्यक्त गरे। 
 
सोही कार्यक्रमको अवसरमा पर्वत सदरमुकाम कुस्माबजारमा सञ्चालित महालक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाले १५ हजार पाँच सय र आदर्श अंग्रेजी आवासीय उच्च माविले १५ हजार पाँच सय ५५ रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेका थिए। पर्वतमा हालसम्म झन्डै सात लाख रुपैयाँ राहत संकलन भएको छ।