नआउने भयो संकल्प प्रस्ताव
काठमाडौं, २४ बैशाख ।
विनाशकारी महाभुकम्पमा पिडितहरुको राहत तथा पुनःस्थापना समेटिने साझा संकल्प प्रस्तावलाई दलहरुले आज पनि अन्तिम रुप दिन सकेनन । कँग्रेस, एमाले र एकिकृत माओवादीले संकल्प प्रस्तावमा आफुहरुले अघि सारेको विषय समेट्नु पर्ने अडान राखेपछि निष्कर्ष निस्कन नसकेको हो । सरकारले भुकम्पमा परि मृत्यु भएकाका परिवारलाई एक लाख रुपैंया राहत वितरण गरेपनि एकिकृत माओवादीले सो रकम तिन लाख पु¥याउनुपर्ने माग गर्दै आएको छ ।
प्रधानमन्त्री निवास वालुवाटारमा विहान करिव एक घण्टा बसेको बैठक राहत वितरण, पुनःस्थापना, उद्धार, विभिन्न निकायबाट आएको सहयोग लगायत विषयमा केन्द्रित भएपनि संकल्प प्रस्तावमा समेटिने विषयबस्तुमाथि भने दलहरु एकजुट हुन सकेनन । बैठकपछि एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राष्ट्रिय विपत्तिको यसघडिमा एकजुट भएर अघि बढ्ने विषयमा दलहरुबीच विवाद नभएपनि प्रस्तावलाई भने अन्तिम रुप दिन नसकिएको बताउनुभयो । संकल्प प्रस्ताव तयार नभएपछि आज बस्ने भनिएको सर्वदलीय बैठक समेत अनिश्चित भएको छ । उपाध्यक्ष श्रेष्ठले प्रस्तावमाथि थप छलफल गर्दै भोलीसम्ममा अन्तिम रुप दिने बताउनुभयो ।
यसैगरी एमाओवादी नेतृत्वको ३० दलीय गठबन्धनले भने आफुहरुले उठाउन खोजेका विषयलाई सरकारले सम्बोधन गरे साझा प्रस्तावमा जाने नत्र छुट्टै प्रस्ताव बनाउने तयारी गरेको छ ।