जेठ १ गतेबाट स्कुल खुल्ने
काठमाडौं, २४ बैशाख ।
महाभुकम्पका कारण स्थगित पठनपाठन जेठ १ गतेबाट सुचारु हुने शिक्षामन्त्रालयले जनाएको छ । गत १२ गते गएको विनासकारी महाभुकम्पले विद्यालयमा पठनपाठन रोकिएको थियो । शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्सालले विद्यालयको भौतिक संरचना अनुसार भवनको सुरक्षा जाँच पछि मात्र पठनपाठनको व्यवस्था गर्न विद्यालय व्यवस्थापन समिती, शिक्षक र अभिवकलाई आग्रह गरीएको जानकारी दिनुभएको छ ।
कतिपय विद्यालय भवन भत्किएका छन् । पठनपाठन कसरी र कहाँ गर्ने भन्नेबारे निक्र्योलमा पुग्न सञ्चालक र व्यवस्थापन समितिलाई कठिनाइ भएको छ । सरकारले विद्यालयका भवनहरुलाई प्राविधिकलाई परीक्षण गराएरमात्र अध्ययन सुरु गर्न विद्यालयहरूलाई निर्देशन दिएको छ । अहिलेकै परिस्थितिमा एक सातापछि पठनपाठन सुचारु राख्न मुस्किल देखिएको सरोकारवालको भनाइ छ ।
भूकम्पबाट अधिकांश विद्यालयहरुको भवनमा क्षति पुगेको छ । यसको यकिन विवरण संकलन गर्ने क्रम जारी रहेको शिक्षा विभागले जनाएको छ ।