व्यवस्थापिका संसदको अधिवेशन सुरु हुदै \ संकल्प प्रस्ताव तयार भएन
काठमाडौं, २४ बैशाख ।
व्यवस्थापिका संसदको हिउँदे अबिधेशन आज शुरु हुँदैछ । भूकम्पका कारण उत्पन्न राष्ट्रिय विपत्तिको अवस्था लगायतका विषयमा छलफल गर्न अबिधेशन आज ३ बजेबाट शुरु हुन लागेको हो । राष्ट्रपति रामवरण यादवले यही वैशाख १८ अन्तरिम संविधान, २०६३ को धारा ५१ को उपधारा १ बमोजिम प्रधानमन्त्री सुशील कोइरालाको सिफारिसमा व्यवस्थापिका संसद्को अधिवेशन आह्वान गर्नुभएको थियो ।
बैठकको कार्यसूची र भूकम्पपछिको मानवीय र भौतिक क्षतिका सम्बन्धमा संकल्प प्रस्ताव पेसका विषयमा हिजो सभामुख सुवास नेम्वाङले प्रमुख तीन दलका प्रमुख सचेतकसँग छलफल गर्नुभएको छ । अबिधेशनको पहिलो बैठकले आज शोक प्रस्ताव पारित गर्ने छ भने आजै बस्ने दोश्रो बैठकमा प्रधानमन्त्री सुशील कोइराला लगायत शीर्ष नेताहरुले विषम परिस्थितिबारे सम्बोधन गर्ने कार्यसुचि रहेको छ ।
संसदको यो अधिवेशन मुख्य रुपमा बिनासकारी भूकम्पले पारेको असर, राहत तथा पुनःस्थापनामा केन्द्रित हुने भए पनि विभिन्न विधेयकहरु माथि पनि छलफल हुने संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभयो ।