सरकारले सुरु गरेको हेल्पलाइनमा गुनासोको ओइरो
काठमाडौं, २३ बैशाख । सरकारले भूकम्प प्रभावितहरुलाई लक्षित गरी एक साताअघि शुरु गरेको हेल्पलाइनमा २७ हजारभन्दा बढी गुनासाहरु आएका छन् । वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि पीडितले निःशुल्क रुपमा आफ्ना गुनासा राख्न सकून् भन्ने उद्देश्यले सरकारले गत मंगलबार १२३४ टेलिफोन नम्बरको हेल्पलाइन शुरु गरेको थियो।
अधिकांश गुनासा राहत सामग्रीसँग सम्बन्धित रहेको छ । हेल्पलाइनमा आउने गुनासालाई सुरक्षा निकायहरुलाई जानकार गराइ उद्धार तथा राहत वितरण लगायतका काममा प्रयोग गरिएको गृहका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले बताउनुभयो ।
उहाँले अहिलेसम्म २७ हजार २ सय ७० वटा गुनासा प्राप्त भएको जानकारी पनि दिनुभयो ।
धेरैजसो गुनासाहरु पाल नपाएको,कतिपय ठाउँमा घरहरु भत्किएको र त्यसलाई हटाउनुपर्ने विषयमा केन्द्रीत छन् ।