दक्षिण कोरियाका सहयोगी हातहरु
लिलु डुम्रे, दक्षिण कोरिया ।
बैशाख १२ मा गएको विनाशकारी भूकम्प पिडितका लागि दक्षिण कोरियामा हालसम्म करिब सात करोड रुपयाँ संकलन भएको छ । विनाशकारी भुकम्प पिडितका लागि बैसाख १३ देखि राहत संकलन सुरु गरिएको थियो । दुतावास, नेपाली समुदाय, विभिन्न संघ सस्थाहरुले संकलनमा तदरुकता देखाएका छन् ।
दुतावासले संचालनमा ल्याएको महाभूकम्प राहत तथा उद्दार कोष खातामा करिब पाँच करोड रकम जम्मा भएको छ । दुतावासको राहत कोषमा कोरियन नागरिक, उद्योगी, ब्यापारी तथा सामाजिक संघ सस्थाहरुले सहयोग गरेका छन् । दुतावासको खातामा केबिएस टेलिभिजिनले दुइ करोड रुपयाँ सहयोग गरेको छ । प्रभावितहरुको सहयोगका लागि वाईजी इन्टरटेनमेन्ट कम्पनिले एक करोड रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । अभिनेत्री कीम हेजाले १ करोड रुपैया सहयोग प्रदान गरेकी छन भने कोरियन अन्य कलाकारहरुले समेत सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । भूकम्प पीडितको सहयोगका लागि दूताबासमा कार्यरत ५ कर्मचारीले एक महिनाको तलब राहत कोषमा जम्मा गर्ने भएका छन् । गल्फ खेलाडी लिडिया कोले पनि राहत रकम प्रदान गर्ने भएकी छन् । गत साता कोरियन एक्जिम बैंकबाट ५ करोड, थेगुस्थित अवैतनिक कन्सुलर डा यूनको सकृयतामा संकलित ५ करोड वन, कोरिया हाइड्रो तथा न्युक्लियर कम्पनिबाट १० करोड वन र अन्यबाट ५ करोड ३० लाख वन राहत तथा उद्दार कोषमा जम्मा भएको छ ।
नेपाली बिद्यार्थीहरुको सस्था सोसाइटि अफ नेपलिज स्टुडेन्टले अध्ययनरत कलेजमा नेपाली , कोरियन विद्यार्थी र प्राध्यापकहरुसंग १ लाख १० हजार डलर संकलन गरेको छ । एनआरएन कोरिया, नेपाल सपोर्ट फाउन्डेसनले चार करोड तिन लाख वन संकलन गरेको छ । योंग स्टार ग्रुपले एक करोड ६२ लाख वन जम्मा गरि ४५ लाख वनको खाध्य सामाग्री वितरण गरिसकेको छ । राजनीतिक दलका भात्रृ सस्थाहरुले पनि राहत तथा उद्दारका लागि आर्थिक संकलन गरिरहेका छन् । नेपाली जनसम्पर्क समितिले करिब एक करोड वन संकलन गरेको छ । हेल्प नेपाल कोरिया च्याप्टरले दुइ लाख ९० हजार हेल्प नेपालको केन्द्रलाइ बुझाईसकेको छ । पर्वतका मणि भुसालको सक्रियतामा जम्मा गरिएको ७६ हजार हेल्प नेपालको खातामा जम्मा गरिएको छ ।
स्याङ्गजा सहयोग समाजले एक करोड, बागलुङ्ग समाज सहयोगले ५१ लाख वन, मगर संघ कोरियाले एक करोड ७० लाख, प्रबाशी मजदुर युनियनले ५० लाख वन राहत संकलन गरेका छन् । व्यक्तिगत रुप पहलमा कोरिया रहेका ट्वीटर प्रयोगकर्ताहरुले दुइ लाख ५० हजार जम्मा गरि गोरखा र सिन्धुपाल्चोकका भूकम्प पिडितहरुलाइ पठाएका छन । उल्सान एकता समाजले १० लाख वन धार्दिंग र सिन्धुपाल्चोकका प्रभावितहरुलाइ हस्तान्तरण गरेको छ ।