Live Streaming

चलचित्रकर्मी अधिकारीको संस्था भुकम्प पीडितको सहयोगमा जुट्यो

चलचित्रकर्मी अधिकारीको संस्था भुकम्प पीडितको सहयोगमा जुट्यो

काभ्रे  ( नयाँगाउँ )
दीपक धिताल


महाभुकम्पले सिंगो देश दुखेको बेला फराकिलो मन बनाएर मलहम पट्टी लगाउन तम्सिनेहरुको कुनै कमी छैन । अपरिचित नै किन नहुन्, अप्ठ्यारोमा परेकालाई सहयोग गर्न खल्ती नि रित्याउनेहरु पनि थुप्रै भेटिए यसपाली । राजधनीबाट करिब ६० किलोमिटर टाढा रहेको काभ्रेको नयाँगाउ देउपुर गाविसमा सरकारी राहत पाउन नसकेका कतिपय पीडितहरुलाई विभिन्न संघसंस्था तथा व्यक्तिगत पहलमा राहत वितरण गरिएको छ ।

अन्नपूर्ण मिडिया नेटवर्कको सहकार्यमा आशाको ज्योति नेपाल सँंंगसँगै सन्नी सगरमाथा सोसाइटी, नेपाली एसोसिएसन अफ नर्दन क्यालिर्फाेनिया, नेपाल चिल्ड्रेन वेलफेयर सोसाइटी र आइ टु वीले नयाँगाउँमा राहत सामग्री वितरण गरेको हो ।

खाद्यान्न अभाव झेलिरहेका पीडितको शिविरमा पुगेर आशाको ज्योति नेपालका अध्यक्ष आकास अधिकारी सहितको ४५ जना सम्मिलित टोलीले खाद्यान्नका अतिरिक्त चिकित्सकमार्फत स्वास्थ्य जाँच र पीडितलाई निःशुल्क औषधिको व्यवस्था पनि गरेको छ । सोमबार र मंगलबार राहत वितरणसँगै चिकित्सक टोलीले पीडितको स्वास्थ्य जाँच गरी निःशुल्क औषधि वितरण गरेका थिए । स्वास्थ्य शिविरमा सयौंले स्वास्थ्य जाँच गराएका थिए ।


विभिन्न निकायबाट अघि बढेका सहयोगी हातहरुमार्फत आशाको ज्योति नेपालले करिब ५ लाख मुल्य बराबरको खाद्य सामग्री र लत्ताकपडा, पाललगायतका समाग्री वितरण गरेका छन्   । एकहजार क्वीन्टल चामल, २० बोरा चिउरा, एकसय ८५ थान पाल, १५० थान म्याट्रेसलगायतका समाग्री वितरण गरेको संस्थाका अध्यक्ष एबं चलचित्रकर्मी आकाश अधिकारीले जानकारी दिनुभयो । साँच्चै नै पीडितहरु भएको ठाउँंमा राहत वितरण गर्न आउँदा आफूलाई सन्तुष्टि मिलेको बताउँदै अध्यक्ष अधिकारीले राहत थापेपछि यहाँका नागरिकको अनुहारमा देखेको खुसिको झिल्कोले आफूलाई सही ठाउँमा आएको महशुस भएको बताउनुभयो ।

अन्नपूर्ण पोष्ट र रेडियो अन्नपूर्ण नेपालले गरेको सहयोग र अभियानमा दिएको साथप्रति उहाँले आभार ब्यक्त गर्नुभएको थियो ।  गत बैशाख १२ गते गएको भूकम्पले काभ्रेका जनतामा यतिबेला साँच्चैनै परनिर्भर भएका छन् । कुनै जोश, जाँगर र उत्साह छैन उनीहरुमा ।  भूकम्पले बढी प्रभावित जिल्ला भएको कारण मुलुकका अधिकांश संघसंस्था काभ्रे पुगेका छन् । तर विभिन्न संस्था तथा विदेशहरुबाट भूकम्प पीडितहरुको लागि आएको राहत सामाग्री वितरणको प्रभावकारी व्यवस्था मिलाइएको छैन । राहत पाइने आशमा नयाँगाउँमा बाटो कुर्नेहरुको लाइन नै छ  । दलीय भागबण्डा मुख्य कारण रहेकोले राहत वितरणमा समस्या भएको पीडितहरुको गुनासो सुनियो ।

आफ्ना कार्यकर्ता र पहुँच भएकालाई मात्र पीडित देख्ने परिपाटिले नयाँगाउँमा राहत वितरणमा समस्या देखिएको छ । कुनै संघसस्थाले राहत लिएर गएपनि नयाँगाउँ छिर्ने नाका कुन्ताबेशीमानै विभिन्न राजनीतिक दलहरु ओइरिएर सो राहत टोलीलाई आफ्नो पक्षमा पारेर राजनीतिक गन्ध दिन तल्लिन छन् ।