Live Streaming

सर्वोच्च अदालतको काम बन्द भएको प्रति राष्ट्रपतिको चासो

काठमाडौं, २२ बैशाख ।
राष्ट्रपति रामवरण यादवले भूकम्पका कारण सर्वोच्च अदालतको काम कारवाही ठप्प भएकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।
अदालत खुल्न नसकेकोबारे राष्ट्रपति यादवले कानूनमन्त्री नरहरी आचार्यसँग छलफलसमेत गर्नुभएको छ । १२ गतेको भुकम्पका कारण भवन चर्किएपछि बन्द रहेको सर्वोच्च अदालतको सेवा आगामी आईतवारबाट खुल्ने बताईएको छ । तत्कालै न्याय प्रदान गर्नुपर्ने निकाय यसरी बन्द हुनु राम्रो नभएको राष्ट्रपतिको भनाइ छ ।


कानूनमन्त्री आचार्यसँगको भेटमा राष्ट्रपति यादवले सरकारले चाँडोभन्दा चाँडो अदालत सुचारु गर्नेबारे पहल गर्नुपर्ने बताउनुभएको थियो । यद्यपी भूकम्पले चर्किएको सर्वोच्च अदालतको काम कारवाही आगामी बैशाख २७ गतेदेखि सुचारु हुने भएको छ ।  


महाभूकम्पले शीतल निवासको माथिल्लो तल्ला चर्केपछि स्वयम् राष्ट्रपति यादव पनि परिसरकै सभाहलमा सर्नुभएको छ ।  भूकम्प आएपछि चौरमा पालमूनि बस्दै आएका राष्ट्रपति यादव सभाहल सर्नुभएको हो । राष्ट्रपति कार्यालय भने चौरमा रहेको पालबाट संचालन हुँदै आएको छ ।