Live Streaming

आईपिएलमा कोलकात्ता विजयी

बैशाख २२, एजेन्सी ।
ईण्डियन प्रेमियर लिग क्रिकेट आईपिएलको पछिल्लो खेलमा कोलकात्ता नाईट राईडर्स विजयी भएको छ । गृहमैदानमा गएराती भएको खेलमा कोलकात्ताले सनराईजर्स हैदरावादलाई ३५ रनले पराजित ग¥यो । जितसँगै कोलकात्ता ११ अंकमा तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । हारपछि हैदरावाद भने ८ अंकमा छैठौं स्थानमा चिप्लिएको छ । कोलकात्ताले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित ओभरमा ९ विकेट गुमाई १ सय ३२ रनमात्र जोड्न सक्यो ।

६ जना ब्याट्सम्यानले दोहोरो अंक छुन नसकेको हैदरावादको ईनिङ्गस्मा मोएस हेन्रिक्युजले ४१ र करण शर्माले ३२ रन जोडे । उमेश यादव र ब्राड हगले समान २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ्ग गरेको कोलकात्ताले निर्धारित ओभरमा ७ विकेट गुमाई १ सय ६७ रन जोडेको थियो । डेल स्टेयन, भुवनेश्वर कुमार, प्रविन कुमार जस्ता प्रभावशाली वलर भएपनि हैदरावादले कोलकात्तालाई कम योगफलमा रोक्न भने सकेन । युसुफ पठान ३० रनमा नटआउट हुँदा मनिस पाण्डे ३३, गौतम गांभिर ३१ र रोबिन उथप्पा ३० रनमा आउट भए । 

यसअघि हिजै भएको अर्को खेलमा रोएल च्यालेन्जर्स बैंङ्लोरलाई २४ रनले पराजित गर्दै चेन्नई सुपरकिङ्स तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । राजस्थान रोएल्ससँग समान १४ अंक भएपनि रनरेटमा पछाडि पार्दै चेन्नई शीर्ष स्थानमा उक्लिएको हो । हारपछि पनि बैंङ्लोर भने ९ अंकमा चौथो स्थानमा छ । १ सय ४९ रनको मध्ययम लक्ष्य पछ्याएको बैंङ्लोर २ वल बाँकी हुँदा १ सय २४ रनमा समेटियो । कप्तान बिराट कोहलीले ४८ रन जोडेपनि आशिष नेहराले ३ तथा ड्वेन ब्राभो र ईश्वर पाण्डेले समान २ विकेट लिएपछि बैंङ्लोर पराजय ब्यहोर्न बाध्य भयो । यसअघि गृहमैदानमा टस जितेर ब्याटिङ्ग गरेको चेन्नईले सुरेश रैनाको ५२ रनको मद्दतमा निर्धारित ओभरमा ९ विकेट गुमाई १ सय ४८ रन बनाएको थियो ।

प्रतियोगितामा आज मुम्बई ईण्डियन्स र देल्ली डेरडेभियल्सबीच प्रतिस्पर्धा हुनेछ ।