Live Streaming

राउण्ड अन्नपूर्ण पदमार्ग सुनसान

काठमाडौं, २१ बैशाख ।
विनाशकारी भूकम्पका कारण विश्व प्रसिद्ध राउण्ड अन्नपूर्ण पदमार्ग सुनसान बनेको छ । पदयात्राका लागि उपयुक्त सिजन मानिने यो समयमा मुस्ताङ, म्याग्दी, कास्की, लमजुङ र मनाङ क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको लर्को नै लाग्ने गरेको थियो । तर, वैशाख १२ गतेको शक्तिशाली भूकम्प पछि पर्यटकहरुले भ्रमण रद्ध गरेपछि पदमार्ग सुनसान बनेको अन्नपूर्ण संरक्षण आयोजना ९एक्याप० ले जनाएको छ । पाँच जिल्ला मध्ये सबैभन्दा बढी पर्यटकको रोजाईमा पर्ने मुस्ताङमा वैशाख १२ पछि दुई सय ५५ जना पर्यटक मात्र पुगेका छन् । अन्य जिल्लामा भने पर्यटकको संख्या सो भन्दा कम रहेको एक्यापले जनाएको छ ।


पदयात्रा अन्र्तगत पर्ने मूख्य पर्यटकीय गन्तव्यहरु म्याग्दीको घोरेपानी, कास्कीको घान्द्रुक, मनाङ र लमजुङ क्षेत्रमा न्यून पर्यटक भित्रिएको एक्याप मुस्ताङका प्रमुख विदुर कुईकेलले जानकारी दिनुभयो । उहाँकाअनुसार, मुस्ताङमा भुकम्प जानुभन्दा पहिला वैशाख १ देखि ११ गतेसम्म दुईहजार ७९ जना विदेशी पर्यटक भित्रिएका थिए भने नौसय ८७ पर्यटक बाहिरिएका थिए । अन्नपूर्ण रेञ्जका दर्जन भन्दा बढी हिमश्रृङखला, मुस्ताङको लोमान्थाङ, मुस्ताङी कला, सँस्कृति, विश्वकै ठुलो क्षेत्रफलमा फैलिएको लालीगुराँसको जंगल, पुनहिलको सुर्योदय, घोरेपानीको बसाई, घान्दुकको आतिथ्य सत्कार लगायत ग्रामिण रहनसहनका कारण यस क्षेत्रमा बर्षेनी एकलाख भन्दा बढी बाह्य पर्यटक पदयात्रामा आउने गरेको तथ्यांक छ । सन् २०१४ मा एकलाख २९ हजार पर्यटकले राउण्ड अन्नपूर्णको पदयात्रा गरेका थिए ।