आज २५५९ औं बुद्धजयन्ती
काठमाडौं, २१ बैशाख ।
आज पच्चीस सय ५९ औं बुद्धजयन्ती । शाक्यमुनि बुद्धको जयन्ती देशभर मनाईदै छ । प्रत्येक बर्षको वैशाख शुक्ल पुर्णिमाका दिन बुद्ध जयन्ती मनाउने प्रचलन अनुरुप आज बुद्ध जयन्ती मनाउन लागिएको हो । बुद्ध जयन्ती मनाउन डेढ महिना अघिदेखि तयारी गरिएको भए पनि देशमा भुकम्पका कारण यस बर्ष बुद्ध जयन्तीको कार्यक्रममा परिमार्जन गरिएको छ । यस बर्षको बुद्धजयन्तीमा भुकम्पबाट मृत्यु भएकाहरुको मोक्ष प्राप्ति र घाइतेको स्वास्थ्यलाभको कामना गर्दै मनाउने भएको राष्ट्रिय बुद्ध जयन्ती मुल समारोह समितिले जनाएको छ ।
जन्म, ज्ञानप्राप्ति र महापरिनिर्वाण जस्ता तीनवटा घटना वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले आजको दिनलाई जीवनको अपूर्व संयोगका रूपमा पनि लिइन्छ । ‘एसियाका ज्योति’ का रूपमा सुविख्यात भगवान गौतम बुद्धले ८० वर्षको उमेरमा कुशीनगरमा महापरिनिर्वाण प्राप्त गर्नुभएको थियो । भगवान गौतम बुद्धद्वारा प्रतिपादित धर्म र उपदेशहरू नेपालका साथै भारत, चीन, श्रीलङ्का, बर्मा, थाइल्याण्ड, लाओस्, क्याम्बोडिया, भियतनाम, भुटान, जापान, मङ्गोलिया, कोरिया आदि देशहरूलगायत विश्वका विभिन्न मुलुकमा बुद्धधर्मका रूपमा विस्तार भएका छन् । विश्वभर शान्ति र अहिंसाका सन्देश फैलाउन बुद्धका ७ उपदेशहरु उपयोगी रहेका छन ।
यसैबीच वुद्ध जयन्तीको अवसरमा सन्देश जारी गर्दै राष्ट्रपति डा रामवरण यादवले भुकम्प प्रभावितहरुको राहत र उद्धारमा जुट्न सबैलाई आग्रह गर्नुभएको छ । उहाँले अहिले मुलुकमा आइपरेको विषम परिस्थितिलाई मध्यनजर गर्दै अरुलाई परेको समस्या पनि आफैंलाई परेको भनेर राहत उद्धार र आफूले सक्ने सहयोग गर्न आग्रह गर्नुभएको छ ।