आईतवार बिहान मात्र तीन पटक धक्का
काठमाडौं, २० बैंशाख ।
सिन्धुपाल्चोक, धादिङ र गोरखा केन्द्र भएर आज बिहान मात्र तीन वटा भूकम्पको धक्का महसुस भएका छन् । बिहान तीन बजेर २९ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्र भएर ४ दशमलब ५, ४ बजेर २४ मिनेट जाँदा दोलखा केन्द्र भएर ४ र ५ बजेर ४७ मिनेट जाँदा गोरखा केन्द्र भएर ४ म्याग्निच्युड स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ । यससँगै गत शनिबारदेखि हालसम्म चार म्याग्निच्युड भन्दा माथिका १ सय २८ पटक भूकम्पको धक्का महसुस गरिएको छ ।
तुलनात्मक रुपमा भूकम्पका धक्का क्रमशः कम हुँदै गइरहेको केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताउनुभयो । उहाँका अनुसार भूकम्पको धक्का विस्तारै न्यून हुँदै गएको छ । ६ म्याग्निच्युड रिक्टर स्केलभन्दा मुनिका भूकम्पले कुनै असर नगर्ने भएकाले ससाना धक्का आउँदा आत्तिनुपर्ने अवस्था भने छैन । ठूलो रिक्टर स्केलको भूकम्प आएको हुनाले ससाना धक्का महिनौं सम्म जान सक्ने अधिकारीले बताउनुभयो ।