म्यानचेष्टर युनाईटेडको लतागार तेस्रो हार
बैशाख २०, एजेन्सी ।
ईङ्लीस प्रेमियरसिप फुटवलको जारी सिजन अन्त्यतिर पुग्दा म्यानचेष्टर युनाईटेडले भने लगातार तेस्रो हार ब्यहोरेको छ । रोबिन भान पर्सि पेनाल्टीमा गोल गर्न चुकेपछि म्यान युनाईटेड गएराती वेष्टब्रोमसँग १–० ले स्तब्ध बन्यो । हारसँगै म्यान युनाईटेडले दोस्रो स्थानमा उक्लने अवसर समेत गुमायो । ३५ खेलको समाप्तिमा युनाईटेड ६५ अंकमा चौथो स्थानमा छ भने समान ६७ अंक भएका म्यानचेष्टर सिटी र आर्सनल गोल अन्तरका आधारमा क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । उपाधि नजिक पुगेको चेल्सी ८० अंकमा शीर्ष स्थानमा छ ।
८० प्रतिशत खेल आफ्नो नियन्त्रणमा राखेपनि म्यान युनाईटेड ६३ औं मिनेटमा गोल खान पुगेको थियो । जोनास ओल्सनले गोल गर्दै वेष्टब्रोमलाई अग्रता दिलाएका थिए । खेलको ७४ औं मिनेटमा भान पर्सिको पेनाल्टी प्रहार वेष्टब्रोमका गोलकिपर बोएज माहिलले रोकेपछि युनाईटेड हार ब्यहोर्न बाध्य भयो ।
गएराती नै भएको अर्को खेलमा लिभरपुलले QPR लाई २–१ ले पराजित भएको छ । जितपछि पनि लिभरपुल ६१ अंकमा पाँचौ स्थानमा कायम छ ।
यस्तै अन्य खेलमा लिसेष्टरले न्युकासललाई ३–० ले, एष्टनभिल्लाले एभरटनलाई ३–२ ले, सण्डरल्याण्डले साउथहेम्पटनलाई २–१ ले, स्वान्सीले स्टकसिटीलाई २–० ले र वेष्टहामले बर्नलीलाई १–० ले पराजित गरे ।
आज राती हुने क्रिष्टल प्यालेस बिरुद्धको खेलमा विजयी भए चेल्सीले जारी सिजनको उपाधि पक्का गर्नेछ ।