Live Streaming

मृतकका परिवारलाई एक लाख राहत र ४० हजार किरिया खर्च

काठमाडौ, १८ बैशाख ।  
भूकम्पमा परी मृत्यु हुने प्रत्येक परिवारलाई सरकारले एक लाख राहत र किरिया खर्च ४० हजार दिने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा हिजो साँझ बसेको मन्त्रिपरिषद् बैठकले सोही बमोजिमको रकम जाजरकोटमा स्वाइन फ्लूबाट मृत्युहुनेका परिवारलाई पनि उपलब्ध गराउने निर्णय गरेको छ ।

भूकम्पमा परी घरबार विहीन भएका प्रत्येक परिवारलाई सरकारले तत्कालीन रुपमा अस्थाई आश्रयस्थलको बन्दोवस्त गर्ने काम तत्काल युद्धस्तरमा प्रारम्भ गरी  सम्पन्न गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले जानकारी दिनुभयो ।


त्यस्तै सरकारले भूकम्पपछिको पुनः निर्माणको कामलाई प्राथमिकता दिन दुई सय अर्ब रुपैँया बराबरको ‘राष्ट्रिय पुनः निर्माण कोष’ स्थापना गर्ने निर्णय पनि गरेको छ । भूकम्पबाट घाइते भएकाको स्वास्थ्यउपचार सम्बन्धमा इमप्लान्ट तथा शल्यक्रियाका लागि प्रतिव्यक्ति एकमुस्ट रु २५ हजार रुपैयाँका दरले अस्पताललाई  उपलब्ध गराउने भएको छ ।

सामान्य उपचारको खर्च सम्बन्धित संस्थाले आफै ब्योहर्ने, अस्पतालले आफूसँग भएको सेवाको लागि उपचारबाट बञ्चित गर्न नपाउने अस्पताललाई तिर्नुपर्ने रकम सरकारले एक मुस्ट तिर्ने बैठकले निर्णय गरेको छ । भूकम्पबाट गम्भीर प्रकृतिका बिरामीको शल्यक्रिया खर्च उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मापदण्ड बनाएर लागू गर्ने भएको छ  ।