Live Streaming

आ–आफ्नै तालमा दलहरु

काठमाठौं, १२ बैशाख ।  
संविधानका अन्तरबस्तुमा सहमति जुटाउन संविधानसभा अध्यक्ष सुवास नेम्बाङ्गले आगामी १७ गतेसम्मको समय दिएपनि दलहरुले प्रयास भने थालेका छैनन् । सहमितका लागि पहल गर्ने भन्दै सभाध्यक्ष नेम्बाङ्गसँग बारम्बार समय मागेपनि दलहरुबीच सार्थक वार्ता हुन नसक्दा संविधान निर्माण भने पछिल्लो समय सुस्ताएको छ ।

गत सोमवार बसेको प्रमुख तीन दलको बैठकले सहमति जुटेका बिषयमाथि मस्यौदा तयार पार्दै गर्ने र संघीयतामाथिको विवाद अन्त्यका लागि छलफल जारी राख्ने सहमति जुटाएपनि सो हुन भने सकेको छैन । प्रधानमन्त्री सुशील कोईराला आगामी मंगलवारमात्र स्वदेश फर्कनु हुने भएकाले सो अघि वार्ताको सम्भावना नभएको नेताहरुले बताएका छन् ।

कंग्रेस सभापति समेत रहेका प्रधानमन्त्री कोईरालाबाट वार्ताको अख्तियारी पाएका उपसभापति रामचन्द्र पौडेलले भोलीबाट भनिभूत वार्ता हुने बताएपनि एमाले नेताहरु भने सम्भावना नभएको तर्क गर्छन् । अध्यक्ष केपी ओली दलहबरुबीच तत्काल छलफलको बाताबरण नबनेको बताउनुहुन्छ । इलाममा रहेका बरिष्ठ नेता झलनाथ खनाल प्रधानमन्त्री स्वदेश फर्केपछि मात्र छलफल हुने र त्यसबाट निकास निस्कने दावस् गर्नुहुन्छ ।

प्रतिपक्षी दलहरु भने आन्तरिक किचलो मिलाउनमा नै ब्यस्त बनेका छन् । बिपक्षी मोर्चाका संयोजक समेत रहेका एकिकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल मोर्चा भित्रको असमझदारी अन्त्यका लागि ब्यस्त हुनु भएपछि प्रमुख दलहरुबीचको छलफल अघि बढ्न समस्या देखिएको हो । कँग्रेस एमालेसँग सहमति गरेको भन्दै मोर्चा आवद्ध दलहरुले आलोचना गरेपछि अध्यक्ष दाहाल, पछिल्ला केही दिन सो बारे स्पष्ट पार्न मै ब्यस्त हुनुहुन्छ । हिजो र अस्ति बसेको मोर्चाको बैठक पर्सि सोमवार पुन बस्ने भएपछि सो पछि मात्र दलहरु बीचको छलफलले निरन्तरता पाउने नेताहरुको ठम्ब्याई छ ।