Live Streaming

लोकतन्त्र आएको १० बर्ष लाग्यो, संविधान भने छैन

काठमाडौं, ११ बैशाख ।
नेपालमा लोकतन्त्र स्थापना भएको आज ९ बर्ष पुरा भएको छ । ०६३ साल बैशाख ११ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गर्ने आधार स्तम्भका रुपमा रहेको २०६२-६३ को ऐतिहासिक जनआन्दोलन सफलतापूर्वक सम्पन्न भएको दिनको सम्झनामा लोकतन्त्र दिवस मनाउने गरिन्छ । लोकतन्त्र प्राप्ती भएको दिनको स्मरणमा विभिन्न कार्यक्रम गरी लाखौ जनता सहभागी भएर निरङकुश शाही सत्तालाई घुँडा टेकाएको दिनको सम्झना गरिदैछ ।

नेपालमा दश वर्षसम्म सशस्त्र संघर्षरत माओवादीलाई पनि शान्तिपूर्ण आन्दोलनमा ल्याउने आधारका रुपमा रहेको यो आन्दोलनलाई नेपालको राजनीतिक यात्रामा अत्यन्त महत्वपूर्ण रुपमा लिइन्छ । लोकतन्त्र स्थापना भएको ९ वर्ष पूरा भई दशौं वर्षमा प्रवेश गर्दा समेत जनता भने कुनै तह र पक्षबाट सच्चा लोकतन्त्रको अनुभव गर्न पाएको अवस्था नभएको विश्लेषकहरुको भनाई छ । २०६२÷६३ को ऐतिहासिक जनआन्दोलनकै कारण मुलुक गणतन्त्रमा प्रवेश गरेको भएपनि त्यसको खासै प्रभाव आमनागरीकमा छैन ।

जन आन्दोलनको समयमा २५ जनाले ज्यान गुमाएका थिए भने करिब २१ हजार नागरिक घाइते भएका थिए । शान्ति र संविधानको जगमा भएको जनआन्दोलन सफल भए पनि मुलुकमा आन्दोलनका उपलब्धीहरु संस्थागत भइसकेका छैनन् । दुइ दुइ पटक संविधान सभाको निर्वाचन भएपनि अहिलेसम्म मुलुकले संविधान पाउन सकेको छैन ।