मोर्चाको बैठक जारी
काठमाडौं, १० बैशाख ।
पछिल्लो समय एमाओवादीले धोका दिएको निष्कर्ष निकालेका ३० दलीय मोर्चा आवद्ध मधेशी तथा जनजाती नेताहरु अहिले अध्यक्ष पुष्पकमल दाहालसँग बार्तामा जुटेका छन ।
तीन दिने आमहड्तालको कार्यक्रम बीचैमा फिर्ता लिएर एमाओवादी सत्तारुढ दलसँग बार्ता गर्न गएपछि रुष्ट बनेका ३० दलीय गठबन्धनका मधेशी र जनजाति नेताहरुले मोर्चाको भविष्य र एमाओवादीको धारणा प्रष्ट पार्न माग गरेका छन ।
असन्तुष्ट रहेका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तमलोपा अध्यक्ष महन्थ ठाकुर र मधेशी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सहित ८ जना मधेशी तथा जनजाती नेता लाजिम्पाट पुगेर दाहालसँग वार कि पारको रुपमा छलफलमा जुटेको तमलोपा नेता हृदयेस त्रिपाठीले जानकारी दिनुभयो । एमाओवादीले धोका दिएको भन्दै असन्तुष्ट मधेशी तथा जनजाती नेताहरु छुट्टै मोर्चा बनाएर अघि बढ्ने योजनामा जुटिसकेका छन ।
एमाओवादीले कांग्रेस र एमालेसँग गरेको सम्झौता गलत रहेको ठहर गर्दै आन्दोलन छाडेर सत्तारुढ दलहरुसँग झुकेको उनीहरुको आरोप छ । एकिकृत माओवादीसँगको छलफलपछि थप रणनीति तय गर्न मधेशी मोर्चा पनि आन्तरीक छलफलमा जुट्ने नेता त्रिपाठीले जानकारी दिनुभयो । एमाओवादीले एक्लै सहमति गर्दै हिँडेपछि मधेशी तथा जनजाति नेताहरु सशंकित भएका हुन ।