आईपिएलमा चेन्नईको चौथो जित
बैशाख १०, एजेन्सी ।
जारी इण्डियन प्रिमियर लिग क्रिकेट आइपिएलमा रोयल च्यालेन्जर्स बैँग्लोरलाई चेन्नइ सुपर किंग्सले २७ रनले पराजित गरेको छ । १ सय ८२ रनको लक्ष्य पछ्याएको बैंङ्लोरले निर्धारित ओभरमा ८ विकेट गुमाई १ सय ५४ रनमात्र जोड्न सक्यो । कप्तान विराट कोहलीले ५१ रनको पारी खेलेपनि क्रिस गेल बिना नै मैदान उत्रिएको बैङ्लोरका अन्यब्याट्सम्यान नचल्दा हार ब्यहोर्न बाध्य भयो । आशिष नेहराले ४ विकेट लिए ।
यसअघि घरेलु मैदानमा टस हारेर व्याटिङ गरेको चेन्नईले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १ सय ८१ रनको योगफल तयार पारेको थियो । उत्कृष्ट पारी खेलेका सुरेश रैनाले ३२ बलमा ६२ रन जोडे । ड्वेन स्मिथले ३९ र फाफ डु प्लेसिसले अविजित ३३ रन जोडे ।
आफूले खेलेका पाँच खेलमा ४ खेलमा जित तथा एक खेलमा हार वेहोरेकोे चेन्नेई ८ अंकमा तालिकाको दोस्रो स्थानमा छ । उता ४ खेलमध्ये १ खेलमा मात्र जित हात पारेको बैँग्लोर भने दुई अंकमा लिगको पुछारमा रहेको छ ।
हिजै भएको पहिलो खेलमा डर्कवर्थ लेविसका आधारमा कोलकात्ता नाईट राईडर्सलाई १६ रनले पराजित गर्दै सनराईजर्स हैदरावाद ४ अंकमा तालिकाको चौथो स्थानमा उक्लिएको छ । हारपछि पनि कोलकात्ता भने ६ अंकमा तेस्रो स्थानमा कायम छ ।
लिग अन्तर्गत आज देल्ली डेरडेभिल्स र मुम्बइ इण्डियन्सबीच नेपाली समय अनुसार राती सवा ८ बजेपछि प्रतिस्पर्धा हुने छ ।