काम कुरो एकातिर कुम्लो बोकी.........
दीपक धिताल, काठमाडौं ।
नयाँ संविधानका अन्तर्वस्तुमा देखिएको विवाद बिहीवारसम्ममा टुगो लगाउने बताएका दलहरु आजसम्म पनि छलफलमा जुटेका छैनन । करिब तीन महिना लामो गतिरोध चिर्दै गत सोमबार संविधानसभाका ठूला तीन दल बालुवाटार बैठकमा बसे । बैठकबाट शीर्ष नेताहरू सम्मिलित राजनीतिक–प्राविधिक आयोग बनाएर विवादमाथी समाधान खोज्दै जाने र सहमति भएको विषयलाई मस्यौदामा लैजानेबारे एकप्रकारको सहमति जुटेको थियो । तर बालुवाटारबाट बाहिरिएपछि जिम्मेवारी पाएका शीर्ष नेताहरु एकपटक समेत बार्तामा बसेका छैनन । सहमति जुटाउने जिम्मेवारी आफ्नो काँधमा लिएका शीर्ष नेताहरु कार्यकर्ताको मन बुझाउन बिभिन्न जिल्लामा छन् ।
कँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री सुशील कोइराला सोमबार तीन दलको बैठक सकेर एसिया–अफ्रिकी रणनीतिक साझोदारी (नास्प) को दशौं सम्मेलनमा भाग लिन जर्काताका लागि उडे ।। पार्टि सभापति कोइराला विदेश लागेपछि बार्ता र छलफलमा नेतृत्व गर्ने जिम्मा पाएका बरिष्ठ नेता शेरबहादर देउवा र उपसभापति रामचन्द्र पौडेलले आ– आफ्नो गृह जिल्लाको बाटो तताए । महाधिबेशनको चटारोमा रहेका चारतारे नेताहरु संविधान निर्माण प्रकृयालाई छायाँमा पारी कार्यकर्ता र प्रतिनिधि आफ्ना पक्षमा पार्न दौडधुपमा छन् । गृहजिल्ला तनहुँमा आफ्ना दौतरीसँग भलाकुसारीमा ब्यस्त नेता पौडेल÷ आफुलाई पोथी मौरी र पार्टीका अरु नेतालाई भाले मौरीको संज्ञा दिदै महाधिवेशनका लागि मह बाढ्दै छन् । पौडेलको नजरमा भाले मौरी बनेका नेता देउवा भने आफ्नो पकड क्षेत्र रहेको सुदुरपश्चिमका चौधरीको आथित्य ग्रहण गर्न मै ब्यस्त छन् ।
यता, स्वास्थ्यको कारण देखाउदै बालकोटलाई राजनीतिक अखडा बनाउन तल्लिन एमाले अध्यक्ष केपी ओली तीन दलको बैठक लगत्तै मदन भण्डारी स्पोटर्स एकेडेमीले कावासोतीमा गरेको पिपुल कन्सर्टमा भाषण गर्न पुगे । फर्केपछि पनि उनी ६७ औं कम्युनिष्ट स्थापना दिवसको तयारीमा ब्यस्त देखिए । बुधवार बिहानभरी डल्लुस्थित आफ्नै निवासमा कम्युनिष्ट स्थापना दिवसको शुभकामना लिन ब्यस्त बनेका बरिष्ठ नेता झलनाथ खनाल दिउँसो इलाम क्षेत्र नं एकको क्षेत्रिय अबिधेशन उद्धघाटनका लागि चन्द्रगढी उडे । यता आफु पार्टिको नेतृत्वमा नरहेर मुलुक समस्यामा फसेको बताउने अर्का नेता माधवकुमार नेपाल दलहरुबीचको छलफलमा भने पछिल्लो समय खासै खुलेका छैनन् ।
अर्को तर्फ निर्णायक हुने भनिएको आमहडताललाई चैत २४ गते साँझ बैठक बसेर फिर्ता लिएको एमाओवादी सोमबार बैठकमा सरिक भएपछि विहीबारसम्म एकप्रकारको सहमति गरेर अघि बढ्ने निष्कर्षमा पुग्यो । तर छलफल र बार्ताको पहलकदमी लिएर राजनीतिलाई आफ्नो वरीपरी घुमाउन चाहने अध्यक्ष पुष्पकमल दाहाल बैठकपछि आवासिय घुमफिर र पार्टीको कामका लागि हेलिकप्टर लिएरै काठमाडौंसँग साँधसीमा जोडिएको धादिङ हानिए, लाग्दैथियो उनी तत्काल फर्किएर वार्ताको चाँजोपाँचो मिलाउनेछन् । तर संविधान निर्माणका यी महत्वपूर्ण समयमा उनी धादिङ्गबासीका घरमा अक्षयातृतियाका दिन सातुसर्वत खाईरहेका भेटिए ।
पछिल्लो समय दलीय छलफलमा भन्दा सामाजिक सञ्जालका भित्तामा बढी भेटिने गरेका एकीकृत माओवादी नेता बाबुराम भट्टराई सानेपास्थित निवासमा ट्वीटर र फेसबुकमा आएका गाली र ताली पढ्न मै ब्यस्त बने । पत्रकारहरुलाई आफनो हात्तीवनस्थित निवासमा बोलाएर गफिदै रमाउने उपाध्यक्ष नारायणकाजी श्रेष्ठ भने केही सञ्चारमाध्यमका बार्षिक कार्यक्रमहरुमा भेटिए ।
नेताहरुको दैनिकी केलाउँदा लाग्छ, संविधान निर्माण बारे उनीहरु ढुक्क छन् । आन्तरिक रुपमा संविधान नै तयार भएको झै गरी तोकिएको समयमा गंभिर मन्थन नगर्ने र अन्तिम समयमा टेवलमा बसेपनि राणा शासन देखिका कुरा झिकेर मैले यो गरे, ऊ गरे भनेर छाती फुलाउने प्रबृत्ति कहिले हट्ला खै ?