सभाषद्द्धारा सहिद मैदानको निरीक्षण
काठमाडौं, ९ बैशाख ।
व्यवस्थापीका संसदको युवा तथा खेलकुद उपसमितिले विराटनगरको सहिद रंगशाला निर्माणको काम चाडो सक्न खेलकुद विकास समितिलाई निर्देशन दिएको छ । जिर्ण रहेको प्याराफिट पुन निर्माण तथा खेलकुद मैदानको स्तरोन्नति चाँडै गर्न निर्देशन दिएको हो ।
उपसमिति संयोजक मोहनकुमार राईको नेतृत्वमा आएको ६ सदस्यीय सभाषदहरुको टोलीले आज विहान निरीक्षण गर्दै सहिद मैदानको पुर्वपट्टी रहेको प्याराफिट धराप भएकाले तत्काल पुन निर्माण गर्न भनेको छ । यसै वर्ष भित्रमा आयोजना गरिने तयारी गरिएको सातौ राष्ट्रिय प्रतियोगिताका लागि भौतिक पुर्वाधारको स्थलगत निरिक्षण गर्दै सभाषद्हरुले हालै निर्माण गरिएको सहिद मैदान उत्तर तर्फको प्याराफिटमा दुई नंवरको इट्टा प्रयोग भएको भन्ने गुनासो आएको भन्दै चासो लिएको थियो ।
उपसमिति संयोजक राईले भौतिक निर्माण तयार गर्दा गुणस्तरहिन काम नगर्न निर्देशन दिनुभएको छ । उहाँले सहिद मैदानमा खेलाडी वाहेकका व्यक्तिहरुले अभ्यास गर्ने थलो वनाएको भन्दै यो कार्य तत्काल रोक्न क्षेत्रीय खेलकुद विकास समितिलाई निर्देशन दिनु भएको छ । सहिद मैदानमा मेला महोत्सव तथा राजनीतिक दलका कार्यक्रम गर्न पनि वन्देज लगाउन निर्देशन दिनु भएको छ । उपसमिति संयोजक राई नेतृत्वको टोलीमा रहेका सभाषद्हरु जयन्ती राई , दुलारी देवी, निशाकुमारी साह, रामहरी सुवेदी र रिता रावलको टोलीले खेलमैदान , प्याराफिटको अवस्था , कभर्डहलको स्थलगत निरीक्षण गरेको थियो ।