शिक्षकद्वारा छात्रा बलात्कृत
जनकपुर, ९ बैशाख ।
जनकपुरमा एक शिक्षकद्वारा बालिका बलात्कृत भएकी छिन् ।
जनकपुर उपमहानगरपालिका ९ रामानन्द चोकमा लक्ष्मेश्वर तिवारीको घरमा बुवाआमासंग भाडामा बस्दै आएकी १० वर्षिय बालिकालाई लक्ष्मेश्वरकै छोरा २० वर्षिय दिपेन्द्र तिवारीले बलात्कार गरेको पिडित परिवारले प्रहरीलाई जानकारी गराएको हो । हिजा साझ दिपेन्द्रसंग ट्युशन पढ्न गएकी बालिकालाई उनले कोठा भित्र थुनेर जवरजस्ती करणी गरेका थिए ।
दिपेन्द्रका बुवा आमा घरमा नरहेको बेला उनले बालिकालाई आफ्नो कोठामै थुनेर जबरजस्ती गरेका थिए । अबेर सम्म छोरी पढेर नआउंदा शंका लागेर पिडितका अभिभावकहरुले खोजी गर्दा बालीकालाई दिपेन्द्रको कोठामा अचेत अवस्थामा भेटेका थिए । पीडित बालिका अभिभावकहरुको उजुरीका आधारमा आरोपित दिपेन्द्रलाई घरबाटै नियन्त्रणमा लिएको प्रहरी निरिक्षक भगिरथ रेग्मीले बताउनुभयो । घटना लगत्तै पक्राउ गरिएका दिपेन्द्रले आफुले गल्ती गरेको स्वीकारेका छन् । अचेत अवस्थामा रहेकी पिडित बालिकाको जनकपुर अञ्चल अस्पतालमा उपचार भईरहेको छ । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार उनी छिनछिनमा डराउने र रुने गरिहरेकी छन् । बालिका बलात्कार गर्ने दिपेन्द्र माथि जवरजस्ती करणीको मुद्दा दर्ता गरि कारवाही प्रक्रिया अगाडी बढाईएको निरिक्षक रेग्मीले जानकारी दिनुभयो ।
यता, युवा तथा नागरिक समाजका अगुवाहरुले बलात्कारीलाई कडा कार्वाहीको मांग गर्दै बिहानैबाट जनकपुरमा प्रर्दशन गरिरहेका छन् । बालिका बलात्कार गर्नेलाई सार्वजनिक रुपमा सजाय दिनुपर्ने र दिपेन्द्रकै सम्पत्तिबाट उनलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै युवाहरुले जिल्ला प्रहरी कार्यालय धनुषामा डेलिगेशन समेत बुझाएका छन् ।