संघीयतालाई थाँती राखेर हुने संविधान निर्माण प्रक्रिया मान्दैनौं – तमलोपा उपाध्यक्ष त्रिपाठी
काठमाडौं, ९ बैशाख ।
तराइ मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हृदयेश त्रिपाठीले संघीयतालाई थाँती राखेर संविधान निर्माण कार्य अघि बढाए आफुहरुलाई स्वीकार्य नहुने बताउनुभएको छ । रेडियो अन्नपूर्ण नेपालको नियमीत विहानी कार्यक्रम अन्नपुर्ण फ्रन्टलाईनमा कुरा गर्दै नेता त्रिपाठीले मधेश आन्दोलनको मुख्य मुद्दा संघीयता भएकाले संघीयतावीना किस्ता बन्दिमा जारी हुने सविधानको औचित्य नहुने दावी गर्नुभयो ।
उहाँले केही दलहरुले परिर्वतनलाई आत्मसाथ गर्न नसक्दा समस्या उत्पन्न भएको तर्क गर्दै संविधान सभाबाट नै सविधान जारी हुनुपर्ने बताउनुभयो । विगतमा एजेण्डा मिल्ने जस्तो लागेर एमाओवादीसँग सहकार्य भएपनि यतिबेला आएर उसले धोका दिएको त्रिपाठिको भनाइ छ । मधेशीका मुद्दामा कसैले साथ नदिएकाले अव एक्लै लड्ने बेला आएको बताउदै उहाँले मधेशीको लडाई राजनीती र सम्मानको लडाई हुने बताउनुभयो ।
अब मधेशमा अर्को आन्दोलन ब्युँतने भन्दै नेता त्रिपाठीले अब शुरु हुने आन्दोलनले मुद्दा स्थापित गरेर मात्रै विश्राम लिने दावी गर्नुभयो । मधेशी दलहरु नै मत विभाजित छ, सत्ताका लागि टुक्रिएका छन नी भन्ने प्रश्नमा – उहाँले सत्ताकालागि मधेशी दलहरु दल फुटेको स्वीकार्दै सिद्धान्त भुलेर अपरिपक्क नेताहरुले पार्टिलाई विभाजन गरेको तर यो विषयलाई देखाएर मधेशीलाई पछाडि पार्न भने नमिल्ने तर्क गर्नुभयो । मधेशी समुदायको संख्यात्मक भन्दा पनि एजेण्डाको प्रतिनिधित्व हुनुपर्ने बताउँदै कँग्रेस÷एमालेले यि विषयलाई प्राथमिकतामा नपार्दा आफुलाई चिन्ता लागेको त्रिपाठीको भनाइ थियो ।