Live Streaming

संक्रमण कालिकोटमा पनि भेटियो\ जाजरकोटमा थप एकको मृत्यु

सुर्खेत, ८ बैशाख ।
तीन सातादेखि फैलिएको महामारीका कारण जाजरकोटमा थप एक जनाको मृत्यु भएको छ । यो संगै मृत्यु हुनेको संख्या २६ पुगेको छ ।  संक्रमणका कारण बिरामी परेका जिल्लाको रामीडाँडा– ७ का ६१ वर्षिय लालवीर नेपालीको सोमबार साँझ मृत्यु भएको हो ।

जाजरकोटमा झण्डै एक महिना देखि देखिएको संक्रमण नियन्त्रणमा नआउँदै कालिकोटमा समेत संक्रमितहरु भेटिएका छन् । कालिकोटका महेलमोडी गाबिसमा मात्र ५० जना संक्रमित भेटिएको जिल्ला स्वास्थ्य कार्यालयका अहेब कटक महतोले जानकारी दिनुभयो ।

जाजरकोटमा फैलिएको संक्रमणका कारण छिमेकी ७ जिल्ला समेत उच्च जोखिममा रहेको राष्ट्रिय मानवअधिकार आयोग सहित बिभिन्न सरोकारवाला निकायबाट सरकारको ध्यानाकर्षण गराउँदा समेत प्रभावकारी कदम चाल्न नसक्दा संक्रमण थप फैलिएको हो । उनीहरुको उपचारका लागि कालिकोट र जुम्ला सदरमुकामबाट औषधिसहितको चिकित्सकको टोली प्रभावित क्षेत्र तर्फ लागेको हाम्रा सुर्खेत सहकर्मी ललितबहादुर बुढाले जनाएका छन् ।