कोटमा लुकेको बिरालोले आखिर म्याउँ गरि छाड्यो – तमलोपा उपाध्यक्ष त्रिपाठी
काठमाडौं, ८ बैशाख ।
बिपक्षी मोर्चाको संयोजन गर्दै आएको एकीकृत माओवादी संविधानका अन्तरबस्तुमा थप लचक बनेपछि ३० दलभित्र हलचल मच्चिएको छ । औपचारिक रुपमा अलग भएको घोषणा नगरेपनि आमहड्ताल फिर्ता भएपछि चिसिएको मोर्चा आवद्ध दलहरुको सम्बन्ध टुटेपछि अब भने मधेश केन्द्रित दलहरुको आगामी रणनीतिमा सवैको ध्यान केन्द्रित भएको छ ।
संविधानसभामा कँग्रेस–एमालेले सुरु गरेको दुई तिहाईको प्रक्रिया खारेजीको माग गर्दै तीन महिनादेखि सडकमा रहेको मोर्चा/ काँग्रेस, एमाले र एकीकृत माओवादीबीच हिजो भएको सहमति लगत्तै अलग्गिएको छ । मधेशकेन्द्रित केही दलले आन्दोलनको तयारी तिब्र बनाएका छन् भने माओवादी र मधेशी ईतरका दलहरु भने कुन बाटो ठीक भन्ने निश्कर्षमा पुगेका छैनन् । मधेश केन्द्रित दल मध्ये एक तराई मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हृदयेस त्रिपाठीसँग रेडियो अन्नपूर्ण नेपालले यही बिषयमा केन्द्रित भएर कुराकानी गरेको छ । सोही कुराकानीको केही अंश ।
प्रमुख तीन काँग्रेस, एमाले र एकीकृत माओवादीबीच हिजो भएको सहमतीलाई कसरी लिनुभएको छ ?
उत्तर : हामीलाई पहिले देखि नै एउटा भय र शंका केमा थियो भने सवै प्रहार संघीयतामाथि छ । स्थायी सत्ताले संघीयतालाई रुचाउदैन भन्ने कुरा हामीलाई थाहा भएको हो र परिवर्तनलाई आत्मसाथ नगर्ने जुन परिपार्टी छ उसको त्यसैको सेरोफेरोमा तीन दलीय सहमति भएको हुनुपर्छ भन्ने अनुमान हो । हामीलाई लागेको शंका भनेको के हो भने संघीयतालाई थाँती राखेर निश्तेज पार्दै संविधान जारी गर्ने जुन प्रपञ्च रचिएको छ, त्यही प्रपञ्चको अंगको रुपमा हिजो बैठकलाई लिएको छु ।
प्रश्न महत्वपूर्ण के हो भने एक थान संविधान जारी गर्दैमा देशको द्वन्द समाधान होला त ? यो चुनौतीपूर्ण पनि छ । मेरो बुझाई के हो भने यदी संघीयतालाई अर्थहीन बनाएर संविधान जारी गरियो भने मुलुक निरन्तर द्वन्दमा जान्छ । अब भने राष्ट्रियताको परिभाषाको खोजी नै परिवर्तन हुन्छ । अहिलेको एकल जातीय र सांस्कृतिक राष्ट्रियता, बहुलजातीय र सांस्कृतिक राष्ट्रियतामा परिवर्तन गर्दा धेरैका लागि पिडादायी हुन्छ ।
सघीयताका नारा चर्को रुपमा लगाएर हिडेको एकीकृत माओवादीले संघीयताको बिषयमा थप छलफल गर्ने भन्दै सहमति जुटेका बिषयमा प्रक्रिया सुरु गर्ने समझदारी गरेपछि बिपक्षी मोर्चा धरापमा परेको हो ?
उत्तर : ३० दलीय मोर्चालाई सँगै नलग्ने कि भनेर एकीकृत माओवादीमा राय आएको हो कि भन्ने लाग्छ मलाई । मोर्चा भित्र रहेका आदिवासी, जनजाती, महिला, मुस्मिल, दलित, थारु जो जो छन् उनीहरुको एजेण्डालाई लिएर जान सकिन्न कि भन्ने निश्कर्षमा माओवादी पुगेको हो की, यसै भन्ने अवस्था भने छैन ।
यो बिषयमा एकीकृत माओवादी सहित मोर्चामा छलफल हुन्छ कि हुन्न ?
उत्तर : हैन छलफल भन्दा पनि बढी छल भयो बढी फल भयो, अब भने हामी बढी कर्म तिर लाग्ने सोचमा छौं । एउटा कुरा सवैलाई स्पष्ट होस, मधेश आन्दोलनको मुडमा छ, आन्दोलन भयंकर हुनेवाला छ, न भूतो न भविश्यती । अब त्यो कहाँ गएर थामिन्छ म भन्न सक्दिन ।
सायद अहिलेका पात्रहरुले बुझ्न नसक्दा, त्यसबेला धेरै ढिला भएको हुन्छ । केही नेताका भनाईमा लागेर अहिले जुन निश्कर्ष दलहरुले निकालिरहेका छन्, त्यसैले ठूलो एउटा झट्का मधेशले दिनेवाला छ र राज्यका धेरै बिषय परिवर्तन गर्नेवाला छ ।
यो बीचमा वार्ताको टेवलबाट भावी संविधानमा आफ्ना एजेण्डा स्थापित गराउन लाग्नु हुन्छ की आन्दोलनलाई थप ससक्त बनाउदै अगाडि बढ्नु हुन्छ ?
उत्तर : पहिला कुरा त बिरालाले म्याउँ गरिसक्यो, अहिलेसम्म त कोट भित्र लुकेर बसिरहेको थियो । म्याउँम्याउँ थालेपछि थाहा भयो बिरालो कहाँनेर छ भनेर । दोस्रो कुरा हामीले वार्तामाथि धेरै बिश्वास गर्दैनौं किनभने विवेकशीलहरुसँग वार्ता हुन्छ । असभ्य र जंगली प्रबृत्तिका मान्छेहरुसँग वार्ता हुदैन । अहिले देखिएको परिवेश पनि यही हो की असभ्य र जंगली प्रबृत्तिको सोच अलिबढी नै अगाडि बढिरहेको हुनाले वार्ताको सम्भावना चै मैले देखेको छैन । यद्यपी यो अलोकप्रिय कुरा हो, जनताले पनि किन वार्ताको बिरोध गर्दै छ भन्लान तर कँग्रेस, एमाले र माओवादीलाई मैले राम्ररी चिनेको हुनाले यो भन्दैछु । कँग्रेस–एमालेसँग मेरो ३० बर्षको सहकार्य हो । सँगसँगै गाई चराए, कृष्ण वन कन्हैया भन्ने भोजपुरीमा एउटा भनाई छ, हिजो सहकार्य गरियो, एकअर्काका क्षमता र कमजोरी एकअर्कालाई थाहा छ । त्यसैले वार्ताबाट केही निश्कर्ष निस्कदैन । वार्ताबाट त हामीले सैद्धान्तिक रुपले संघीयता स्थापित गराउन सकेनौं, त्यसका लागि त सघर्ष गर्नुप¥यो भने थप आशा गर्नु बेकार हो ।
एकीकृत माओवादी ३० दलीय मोर्चाबाट बाहिरिएपछि अब तपाईहरु २९ दल एक साथ अगाडि बढ्नु हुन्छ ?
उत्तर : कुनै जरुरी छैन । यहाँ परिवर्तनकारी शक्तिहरुको ध्रुविकरण हुन्छ । यसमा मधेशी, आदिवासी, जनजाती, दलित, महिला, मुस्लिम, थारु जो आन्दोलन गरेर आ–आफ्नो एजेण्डा स्थापित गराईसकेका छन्, ती एक ठाउँमा आउँछन् । त्यसपछि काँग्रेस, एमाले र एकीकृत माओवादी भित्र रहेका सोही प्रकारका शक्तिहरु पनि बिस्तारै निराश हुदै यो ठाउँमा आउँछन् । त्यसैले यो संघर्ष लामो भएपनि स्थायी सत्तालाई यसपटक हल्लाएर छाड्ने संघर्षको मैले अनुमान गरिरहेको छु ।