Live Streaming

संघीयताको विवाद बिहीवार भित्र टुङ्गो लगाईने

काठमाडौं, ७ बैशाख ।
संविधान निर्माणमा झण्डै दुई महिना लामो गतिरोध अन्त्य गर्दै प्रमुख दलहरु आगामी बिहीवार भित्र संघीयताको विवाद अन्त्य गर्न सहमत भएका छन् । प्रधानमन्त्रीको सरकारी निवासमा आज बसेको काँग्रेस, एमाले र एकीकृत माओवादीबीचको बैठकले आगामी जेठ १५ गते भित्र संविधान जारी गर्ने गरी छलफललाई तिब्र बनाउने निश्कर्ष समेत निकालेको हो । पछिल्लो समय शोक प्रस्ताव पारित गर्ने एजेण्डामा सीमित हुदै आएको संविधानसभाको बैठक समेत आगामी बिहीवार बस्दैछ ।  

प्रमुख दलहरुको बैठकले संघीयताबारेको विवाद टुङ्गो लगाउने जिम्मा शीर्ष नेतालाई दिएको छ । प्रधानमन्त्री सुशील कोईराला सोही समय मुलुक बाहिर रहनुहुने भएकाले काँग्रेसबाट बरिष्ठ नेता शेरबहादुर देउवा वा उपसभापति रामचन्द्र पौडेल, एमालेबाट अध्यक्ष केपी ओली र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई बैठकले विवाद अन्त्यको जिम्मा दिएको नेताहरुले जनाएका छन् । बैठकपछि एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सहमति जुटेका बिषयमाथि मस्यौदा तयार पार्दै संघीयातामाथिको विवाद शीर्ष तहबाट टुङ्गो लगाउने सहमति भएको जानकारी दिनुभयो ।

यस्तै बैठकमा शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीमाथि गत माघ ५ गते अघि भएको सहमतिलाई मस्यौदा समितिमा पठाउन समेत दलहरु सहमत भएका छन् । दलहरुबीचको सहमति पछि प्रश्नावली समितिले शासकीय स्वरुप तथा निर्वाचन र न्याय प्रणालीमा तयार पारेको प्रतिवेदन समेत काम नगाल्ने भएको छ । प्रश्नावली निर्माण समितिले गत माघ २९ गते विवादित सम्पूर्ण बिषय समेटी संविधानसभामा प्रतिवेदन बुझाएको थियो ।