११ जना फुटवल समर्थकलाई मृत्युदण्डको सजाय
बैशाख ७, एजेन्सी ।
इजिप्टमा सन २०१२ मा भएको फुटबल खेलका क्रममा भएको झडपमा संलग्न ११ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ ।
मुद्दाको पुर्नसुनुवाइ पछि एक अदालतले फैसला कार्यान्वयनको लागि ग्राण्ड मुफतीका सामु पठाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । इजिप्टका सबैभन्दा ठूला धार्मिक अधिकारी मुफतीको फैसला मान्नका लागि बाध्यता नभए पनि उहाँको राय लिन आवश्यक मानिन्छ । आगामी मे महिनाको अन्त्यसम्ममा अदालतले फैसला कार्यान्वयन गर्नसक्ने जनाइएको छ ।
पोर्ट सइद सहरमा अल एहली र अल मैसी क्लवबीच भएको प्रतियोगिताका क्रममा झडप हुँदा ७४ जनाको मृत्यु भएको थियो । घटनामा करिब एक हजार बढी फुटबलप्रेमी घाइते भएका थिए । यसअघि २१ जनालाई मृत्युदण्डको सजाय सुनाइएको थियो भने पाँच जनालाई जन्मकैदको सजाय सुनाइएको थियो ।