दलहरु छलफलमा जुटे
काठमाडौं, ७ बैशाख ।
लामो समयको शुन्यता अन्त्य गर्दै संविधानका अन्तरबस्तुमा देखिएको विवाद अन्त्य गर्ने प्रयासस्वरुप प्रमुख तीन राजनीतिक दलको बैठक बसिरहेको छ । आगामी जेठ १५ मा संविधान जारी गर्ने गरी सहमतिको प्रयास अगाडि बढाउने बताएका कँग्रेस, एमाले र एमाओवादीबीच अहिले प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भैरहेको हो ।
नयाँ संविधानका अन्तरवस्तुमा दलहरुबीच देखिएको तिक्तता अन्त्य गर्दै सहमति जुटाउने प्रयास भैरहेको बैठक श्रोतले जनाएको छ । बैठकअघि हामीसँग कुरा गर्दै एमाले बरिष्ठ नेता झलनाथ खनालले विवादित बिषयमाथिको छलफललाई निरन्तरता दिएर चाडो संविधान जारी गर्न सहमति भएका विषयमाथिको मस्यौदा भने छलफलका लागि जनतामा लैजाउँ भन्ने पाटोबाट एमाओवादीसँग छलफल हुने बताउनुभएको थियो । नेता खनालले विपक्षीलाई सहमतिको नाममा कुर्न नसकिने बताउँदै प्रकृया अघि बढाउने र सहमतिका लागि आजको बार्ता निर्णायक हुने बताउनुभयो ।
प्रमुख राजनीतिक दलबीच खासगरी राज्य पुनःसंरचनामा जाँदा प्रदेशको संख्या, नामाङ्कन, सीमांकनका विषयमा गम्भीर मतभेद रहँदै आएको छ । शासकिय स्वरुप, न्याय तथा निर्वाचन प्रणालीमा पनि दलहरुबीच अन्तिम सहमति जुटेको छैन ।