Live Streaming

प्रोजियोकेम मजदुरको धर्नाले उद्योग बन्द

हेटौडा, ७ बैशाख ।
हेटौंडामा रहेको प्रोजियोकेम इण्डष्ट्रिज प्रालिका मजदुरहरु ११ सूत्रीय माग राख्दै आन्दोलनमा उत्रिएपछि पाँच दिनदेखि उद्योगको काम ठप्प भएको छ । औद्योगिक क्षेत्रमा बन्द र हड्ताल नगर्ने दलीय सहमति बिपरीत मजदुरहरु धर्ना सुरु गरेका हुन् ।

अगरबत्तीको सुगन्ध नउड्नका लागि प्रयोग गरिने डीइपी आयल, पोलिथिनका ड्रम, पेन्टको कच्चापदार्थ अल्फाईड रेजिन आदि उत्पादन गर्ने ५ वटा प्लान्ट रहेको प्रोजियोकेम नेपालको एक मात्र उद्योग हो । सो उद्योगमा कार्यरत मजदुर आवद्ध ट्रेड युनियन नेपाल कारखाना श्रमिक संघद्वारा जारी कल्याणकारी कोष, आवास कोष, यातायातको व्यवस्था, बीमा, घरभाडा,पोशाक, बोनस लगायतको व्यवस्था गर्न माग गर्दै आन्दोलनमा उत्रिएका हुन् ।

गत माघ १४ गते मजदुरले आफ्नो माग सुनुवाईको निम्ति उद्योगलाई २१ दिने अल्टिमेटम दिएका थिए । २ महिनासम्म सहमतिको प्रयास नखोजी उद्योग व्यवस्थापन चुपचाप रहेकोले उद्योग बन्द गरेको मजदुरहरुको भनाइ छ ।  कम्पनीमा ४० जना कामदार कर्मचारी कार्यरत छन् । जसमा १३ जना नियुक्तिपत्र बिना नै काम गरिरहेको मजदुरहरुले बताएका छन् ।