Live Streaming

आईपिएलमा मुम्बईको पहिलो जित\ राजस्थान अपराजित

बैशाख ७, एजेन्सी ।
मुम्बई ईण्डियन्सले ईण्डियन प्रेमियर लिग क्रिकेट आईपिएलको जारी सिजनमा पहिलो जित दर्ता गरेको छ । आफ्नौ पाँचौ खेलमा रोएल च्यालेन्जर्स बैंङ्लोरलाई १८ रनले पराजित गर्दै मुम्बईले पहिलो जित दर्ता गरेको हो । जितसँगै मुम्बई २ अंकमा तालिकाको सातौं स्थानमा उक्लिएको छ । पराजयपछि बैंङ्लोर भने अन्तिम स्थानमा चिप्लिएको छ ।

हरभजन सिंहले बैंङ्लोरको ओपनिङ्ग लाईनअप ध्वस्त बनाएपछि २ सय १० रनको उच्च लक्ष्य पछ्याएको घरेलु टोलीले निर्धारित ओभरमा ७ विकेट गुमाई १ सय ९१ रनमात्र जोड्न सक्यो । बिराट कोहली, क्रिस गेल, दिनेश कार्तिक, मनभिन्दर बिस्ला र रिली रोसुउ सस्तैमा आउट भएको बैंङ्लोरको ईनिङ्गस्मा बलर डेभिड विसेले नटआउट ४७ र एबिडि भिलियर्सले ४१ रन जोडे । आफ्नो स्पेलमा भज्जीले २७ रन खर्चेर ३ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ्ग गरेको मुम्बईले निर्धारित ओभरमा ७ विकेट गुमाई २ सय ९ रनको उच्च योगफल तयार पारेको थियो । लेण्डी सिमोन्सले ५९, उन्मुक्त चन्दले ५८ र बिष्फोटक ब्याटिङ्ग गर्दै कप्तान रोहित शर्माले १५ वलमा ४२ रन जोडेपछि मुम्बई सो योगफल तयार पार्न सफल भयो । डेभिड विसेले ४ विकेट लिएपनि मुम्बईलाई सस्तैमा समेट्न भने सकेनन् ।

हिजै भएको पहिलो खेलमा चेन्नई सुपरकिङ्गस्लाई ८ विकेटले पराजित गर्दै राजस्थान रोएल्सले जारी लिगमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ । ६ अंकमा दोस्रो स्थानमा रहेको चेन्नईको भने यो  पहिलो हार हो । १० अंकमा शीर्ष स्थानमा रहेको राजस्थानले १ सय ५७ रनको लक्ष्य १० वलबाँकी छँदा २ विकेट गुमाएर भेट्टायो । अजन्क्या रहाने र शेन वाट्सनले पहिलो विकेटका लागि १ सय ४४ रनको साझेदारी गरे । चोटमुक्त भएपछि पहिलो पटक क्रिजमा उत्रिएका कप्तान वाट्सनले ७३ रन जोडे भने राहाने ७६ रनमा नटआउट भए ।

यसअघि अहमदावादमा टस जितेर ब्याटिङ्ग गरेको चेन्नईले निर्धारित ओभरमा ४ विकेट गुमाई १ सय ५६ रनको योगफल तयार पारेको थियो ।