Live Streaming

प्रधानमन्त्री कोइराला जकार्ता जाँदै

काठमाडौं, ७ बैशाख ।
एसियाली अफ्रिकी सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री सुशील कोइराला आज इन्डोनेसियाको राजधानी जकार्ता जाँदै हुनुहुन्छ । जाकर्ता र बाङ्डुङ शहरमा आयोजना हुने एसियाली–अफ्रिकी सम्मेलनको ६० औँ तथा नयाँ एसियाली–अफ्रिकी रणनीतिक साझेदारी (नास्प) को १० औँ वार्षिकोत्सवमा भाग लिन प्रधानमन्त्री जकार्ता उड्न लाग्नु भएको हो । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री कोइराला आज दिउँसो १ बजे जकार्ता जाने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री कोइरालाको टोलीमा परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे, प्रधानमन्त्री कोइरालाका निजी चिकित्सक कविरनाथ योगी सहित १२ जना सहभागी हुनुहुनेछ । ‘विश्व शान्ति तथा समृद्धि प्रवद्र्धन गर्न दक्षिण–दक्षिण सहयोग सबलीकरण’ भन्ने नाराका साथ नास्पको सम्मेलन जाकर्तामा वैशाख ९ र १० गते हुनेछ । एसियाली–अफ्रिकी सम्मेलनको ६० औँ वाषिकउत्सव भने बाङ्डुङ शहरमा वैशाख ११ गते आयोजना हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालले सन् १९५५ मा सम्पन्न पहिलो एसियाली–अफ्रिकी सम्मेलनदेखि नै भाग लिँदै आएको छ ।

समारोहमा एसिया तथा अफ्रिका महादेशका १०९ देश, १६ पर्यवेक्षक मुलुकका प्रतिनिधि तथा २५ अन्तराष्ट्रिय सङ्गठनका प्रतिनिधिको सहभागिता रहने छ । एसियाली तथा अफ्रिकी मुलुकबीच साझेदारीलाई अझ बलियो बनाउने तथा दुवै क्षेत्रको आर्थिक विकास विस्तार गर्न अनुभव आदानप्रदान गर्ने लक्ष्य ती दुवै सम्मेलनले राखेका छन् ।

सम्मेलनका समय प्रधानमन्त्री कोईरालाले सहभागी बिभिन्न मुलुकका प्रतिनिधहरुसँग साईडलाईन वार्ता समेत गर्ने वालुवाटार स्रोतले जनाएको छ ।