लामो समयको शुन्यता चिर्दै दलहरु छलफलमा
काठमाडौं, ७ बैशाख ।
लामो समयको शुन्यता अन्त्य गर्दै संविधानका अन्तरबस्तुमा देखिएको विवाद अन्त्य गर्ने प्रयासस्वरुप प्रमुख तीन राजनीतिक दलको बैठक आज बस्दैछ । आगामी जेठ १५ मा संविधान जारी गर्ने गरी सहमतिको प्रयास अगाडि बढाउने बताएका कँग्रेस, एमाले र एकीकृत माओवादीबीच अहिले केहीबेरपछि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो । नयाँ संविधानका अन्तरवस्तुमा दलहरुबीच देखिएको तिक्तता अन्त्य गर्दै सहमति जुटाउने प्रयास स्वरुप बैठक बस्न लागेको नेताहरुको भनाई छ ।
विवादित बिषयमाथिको छलफललाई निरन्तरता दिदै चाडो संविधान जारी गर्न सहमति भएका विषयमाथिको मस्यौदा भने छलफलका लागि जनतामा लैजाउँ भन्ने पाटोबाट एमाओवादीसँग छलफल गर्न लागेको एमाले बरिष्ठ नेता झलनाथ खनालले बताउनुभयो । रेडियो अन्नपूर्ण नेपालसँग कुरा गर्दै नेता खनालले विपक्षीलाई सहमतिको नाममा कुर्न नसकिने बताउँदै प्रकृया अघि बढाउने र सहमतिका लागि आजको बार्ता निर्णायक हुने बताउनुभयो ।
प्रमुख राजनीतिक दलबीच खासगरी राज्य पुनःसंरचनामा जाँदा प्रदेशको संख्या, नामाङ्कन, सीमांकनका विषयमा गम्भीर मतभेद रहँदै आएको छ । शासकिय स्वरुप, न्याय तथा निर्वाचन प्रणालीमा पनि दलहरुबीच अन्तिम सहमति जुटेको छैन ।