महामारी हो, नियन्त्रणमा आउन त समय लाग्छ नि–स्वास्थ्यमन्त्री अधिकारी
काठमाडौं, ७ बैशाख ।
स्वास्थ्यमन्त्री खगराज अधिकारीले जाजरकोटमा फैलिएको महामारी नियन्त्रणमा सरकारले कुनै कसर बाँकी नराखेको दावी गर्नुभएको छ । सरकारी लापरवाहीका कारण तीन साता पुगिसक्दा समेत महामारी नियन्त्रणमा आउन नसकेको भन्दै चौतर्फी आलोचना भईरहेका बेला मन्त्री अधिकारीले सरकारका तर्फबाट लापरवाही नभएको दावी गर्नुभएको हो ।
रेडियो अन्नपूर्ण नेपालको नियमित विहानी कार्यक्रम अन्नपूर्ण फ्रन्टलाइनमा आज कुरा गर्दै मन्त्री अधिकारीले केन्द्रदेखि जिल्लातह सम्मका स्वास्थ्यकर्मी र प्राविधिक टोलीलाई टिम बनाई खटाईएको जानकारी दिनुभयो । पर्याप्त मात्रामा औषधी जिल्लामा पुगेको दावी गर्दै मन्त्री अधिकारीले करिव ४ हजार जनाको स्वास्थ्य परिक्षण गर्दा करिब २५ प्रतिशतमा स्वाईन फ्लुको संक्रमण देखिएकाले नियन्त्रणमा आउन केही समय लाग्ने तर्क गर्नुभयो । जिल्लाको मौसम, भौगोलिक बिकटता लगायत कारण थप समस्या भएको बताउदै उहाँले थप स्वस्थ्यकर्मी र चिकित्कसको टोाली प्रभावित क्षेत्रमा पठाउने तयारी भईरहेको जानकारी दिनुभयो ।
तीन सता अघिबाट देखिएको महामारीका कारण अहिलेसम्म २५ जनाको मृत्यु भईसकेको छ भने ३ हजार भन्दा बढी प्रभावित भएका छन् । जाजरकोटमा देखिएको महामारीका कारण छिमेकी ७ जिल्ला समेत प्रभावित छन् ।