Live Streaming

जनताले धोकाको बद्ला लिदैछन् – सीपी गजुरेल

काठमाडौं, ६ बैशाख ।  
नेकपा माओवादीका उपाध्यक्ष सीपी गजुरेलले आफूहरुले जनतालाई धोका दिएका कारण माओवादी आन्दोलन कमजोर भएको बताउनुभएको छ । रेडियो अन्नपूर्ण नेपालको नियमित विहानी कार्यक्रम अन्नपूर्ण फ्रन्टलाइनमा कुरा गर्नुहुँदै उहाँले माओवादीले शान्ति प्रकृयामा आएपछि जनतालाई विर्सेकोले काँग्रेस एमालेले फाइदा लिएको बताउनुभयो ।

पहिलो संविधानसभा आफैंले विघटन गरेर एकिकृत माओवादीले दोश्रो संविधानसभामा भाग लिनु गल्ति भएको उहाँको भनाइ छ । यो संविधान सभाले नयाँ संविधान जारी गर्नै नसक्ने बताउँदै उपाध्यक्ष गजुरेलले अधिकारसम्पन्न सर्वपक्षिय राजनीतिक सभा आयोजना गरी नयाँ संविधान जारी गर्नुपर्ने बताउनुभयो ।

विगतमा गोलमेच सम्मेलन आयोजना हुँदा तपाइहरु त सहभागी हुनुभएननी ? भन्ने प्रश्नमा उहाँले – अन्तरबस्तुमा गहन छलफल नगरी केवल उपस्थितिको लागि मात्र बोलाइएको सुनियोजित सभामा जानुको औचित्य नभएको बताउँदै त्यतीबेला कँग्रेस एमालेको प्रभावमा परि मिडियाले पनि आफूहरुलाई सहयोग नगरेको आरोप लगाउनभयो । माओवादी आन्दोलनका घटकहरु एक हुनुपर्ने अवस्था आएको बताउँदै एकताको लागि छलफल चलिरहेको उपाध्यक्ष गजुरेलको भनाइ छ ।