जाजरकोटमा थप २ को मृत्यु
ललित बुढा,
सुर्खेत ४ बैशाख ।
जाजरकोटमा फैलिएको संक्रमणका कारण थप दुइ जनाको मृत्यू भएको छ । योसँगै ज्यान गुमाउनेको संख्या २० पुगेको छ । तिन सातादेखि जिल्लाका बिभिन्न गाविसमा फैलिएको संक्रमणको उपचार थालेपनि नियन्त्रणमा आउन सकेको छैन ।
रोगको संक्रमण थप नयाँ स्थानमा समेत फैलिन थालेको छ । जिल्लाका पजारु, टालेगाउँ, अर्छानी, पैक, सक्ला, नायकवाडा, रोकायगाउँ, लह र सुवानाउली गाविसमा रोग फैलिएको छ । गाउँमा अधिकांश परिवारका सबै सदस्यहरु बिरामी छन् । औषधिसहितका स्वास्थ्यकर्मीले उपचार जारी राखेको क्षेत्रीय स्वास्थ्य निर्देशनालय सुर्खेतले जनाएको छ ।
यसैबीच मौसमी संक्रमण अन्य गाविस तथा जिल्लामा फैलिन नदिन हेल्पडेस्क स्थापना गरिएको छ । जाजरकोट र सुर्खेतको सिमाना रहेको छेडाचौर, दैलेख र जाजरकोटको सिमाना थलहबजार, जाजरकोट र रुकुमको सिमाना दल्ली र बसपार्क खलङ्गाको शान्ति चौतारामा हेल्पडेस्क स्थापना गरिएको जिल्ला दैवी प्रकोप समितिले जनाएको छ ।
हेल्प डेस्कमा बिरामीको जाँच गरिने र आवश्यक सल्लाह दिने गरिएको जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटलाई उद्धृत गर्दै हाम्रा सहकर्मी ललित बुढाले जनाएका छन ।