Live Streaming

पूर्वप्रधानमन्त्री थापाको अन्त्येष्टि आज

काठमाडौं, ४ बैशाख ।
पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ । उहाँको उपचारका क्रममा बुधबार राती भारतको हरियाणास्थित मेदान्त अस्पतालमा निधन भएको थियो ।  उहाँको पार्थिव शरिर हिजो साँझ इन्डियन एयर फोर्सको बिषेश विमानबाट नेपाल ल्याइएको छ । हिजो रातभर मालीगाउँस्थित निवासमा राखिएको उहाँको शवलाई आज विहान दश देखि बाह्र बजेसम्म श्रद्धाञ्जलीका लागि पार्टि कार्यालय चावहिलमा राखिने राप्रपाले जनाएको छ । दिउँसो १ बजेबाट अन्तिम श्रद्धाञ्जलीका लागि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राखिने छ । श्रद्धाञ्जलीका लागि प्रधानमन्त्रि सुशील कोइराला, संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कँग्रेस उपसभापति रामचन्द्र पौडेल लगायत शिर्ष नेताहरु उपस्थित हुनुहुनेछ ।


श्रद्धाञ्जली पछि थापाको पार्थिव शरिर सुन्धारा, बागबजार, डिल्लीबजार, मैतीदेवी, पुरानो वानेश्वर, बत्तिसपुतली र गौशालाको बाटो हुँदै पशुपति आर्यघाट लगिने छ । यसैबीच गृहमन्त्रालयले थापाको शव यात्रा हुने रुटमा सवारी साधन नचलाउन आग्रह गरेको छ । २०१४ सालदेखि प्रत्यक्ष राजनीतिमा रहनु भएका थापा पछिल्लो समय संविधानसभाको सदस्य हुनुहुन्थ्यो । पञ्चायतकालमा २०२२, ०३५ र ०३८ सालमा प्रधानमन्त्री बनेका थापा प्रजातन्त्र स्थापनापछि पनि २०५४ र २०५९ सालमा मुलुकको प्रधानमन्त्री बन्नुभयो ।

संविधानसभाका जेष्ठ सदस्य थापाले संविधानसभा अध्यक्ष र सभामुखको निर्वाचन हुनु पूर्व त्यसको अध्यक्षता समेत गर्नूभएको थियो । सरकारले उहाँको निधनको शोकमा आज सार्वजनिक विदा दिने, सरकारी कार्यालय तथा कुटनीतिक नियोगमा एक दिन राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि गरेको छ ।