संविधान निर्माणमा एकीकृत माओवादीको समर्थन आवश्यक–नारायणकाजी श्रेष्ठ
काठमाडौं, ४ बैशाख ।
एकिकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संविधान निर्माणमा सर्वसम्मती नभएपनि परिवर्तनकामी शक्तिहरुलाई सँगै लैजानुपर्ने बताउनुभएको छ । रेडियो अन्नपूर्ण नेपालको नियमित कार्यक्रम अन्नपूर्ण फ्रन्ट लाइनमा आज विहान कुरा गर्दै उपाध्यक्ष श्रेष्ठले सत्तापक्षिय दलहरु विपक्षीको कुरा सुन्न तयार नभएकोले राजनीतिक गतिरोध जारी रहेको आरोप लगाउनुभयो ।
माघ पाँच गते पछि संविधान निर्माणको प्रकृयामा कुनै नयाँ परिवर्तन नदेखिएको बताउँदै उहाँले विगतमा भएका सहमति र सम्झौतालाई कार्यान्वयन गर्दै अघि बढेमा देशले चाँडै नयाँ संविधान पाउने दावी गर्नुभयो । दलहरुबीच कायम संवादहीनताका कारण जेठ १५ को सम्भावना पनि टरेको बताउँदै उपाध्यक्ष श्रेष्ठले कँग्रेस÷एमालेले बहुमतिय प्रकृया छोडे सहमतिको सम्भावना प्रवल रहेको बताउनुभयो ।
यसैगरी पछिल्लो आन्दोलनका कार्यक्रम फिर्ता लिएपछि मोर्चा भित्र विवाद देखिएपनि तत्काल नफुट्ने उहाँको भनाइ थियो । केही मधेश केन्द्रित दलले एकिकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले माफी नमागे फरक मोर्चा गठनको चेतावनि दिइरहँदा उपाध्यक्ष श्रेष्ठले सो सम्भव नभएको बताउनुभयो ।