थापालाई राजकीय सम्मान दिने प्रधानमन्त्री कोईरालाको भनाई
काठमाडौं, ३ बैशाख ।
प्रधानमन्त्री सुशील कोईरालाले भारतमा उपचारका क्रममा निधन भएका पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापालाई राजकीय सम्मान दिने बताउनुभएको छ । राप्रपा नेताहरुसँगको कुराकानीमा प्रधानमन्त्री कोईरालाले थापाको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने बताउनुभएको सहप्रवक्ता किरण गिरीले जानकारी दिनुभयो । भारतबाट शव नेपाल ल्याएदेखि दाहसंस्कारसम्मको प्रवन्ध समेत सरकारले मिलाउने भएकोे छ । यसका लागि आजै साँझसम्ममा मन्त्रीपरिषद्को बैठक बस्ने वालुृवाटार स्रोतले जनाएको छ ।
उपचारका क्रममा गएराती हरियाणास्थित मेदान्त अस्पतालमा निधन भएका थापाको पार्थिव शरिर अपरान्ह काठमाण्डौं ल्याउने तयारी भईरहेको सहप्रवक्ता गिरीले बताउनुभयो ।
यसैबीच राप्रपा केन्दिय समितिको आज बिहान बसेको आकस्मिक बैठकले भारतको नयाँदिल्लीबाट काठमाण्र्डौ ल्याए लगत्तै थापाको पार्थिव शरिर आज मालिगाउँस्थित उहाँकै निवासमा राख्ने निर्णय गरेको छ । भोली १० बजेदेखि २ घण्टा पार्टी केन्द्रिय कार्यालय र त्यसपछि सरकारले निर्धारण गरेको सार्वजनीक स्थानमा पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि राखेपछि भोली नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने निर्णय भएको सहप्रवक्ता गिरीले जानकारी दिनुभयो ।