Live Streaming

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको निधन

काठमाडौं, ३ बैशाख ।
पूर्वप्रधानमन्त्री एवं राप्रपाका बरिष्ठ नेता सूर्यबहादुर थापाको ८८ बर्षको उमेरमा गएराती निधन भएको छ । पेटको समस्याका कारण भारतको हरियाणास्थित मेदान्त अस्पतालमा उपचार गराईरहेका थापाको गएराती १० बजेर ४४ मिनेटमा निधन भएको हो । पेटको उपचारका लागि हरियाणा गएका थापाको गत शुक्रवार आन्द्रामा देखिएको अल्सरको शल्यक्रिया गरिएको थियो । चिकित्सकको सल्लाहअनुसार थप २ साता अस्पतालमै आराम गरिरहेका थापालाई हिजो साँझदेखि श्वासप्रश्वासमा समेत समस्या देखिएपछि भेन्टिलेटरमा राखिएको थियो । राप्रपाका सहप्रवक्ता किरण गिरीका अनुसार, थापाको पार्थिव शरिरलाई आजै अपरान्ह काठमाडौं ल्याउने तयारी भईरहेको छ ।


धनकुटाको मुगामा जन्मिएका थापा पाँच पटक नेपालको प्रधानमन्त्री बन्नु भएको थियो । २०१४ सालदेखि प्रत्यक्ष राजनीतिमा रहनु भएका थापा पछिल्लो समय संविधानसभाको सदस्य हुनुहुन्थ्यो । पञ्चायतकालमा २०२२, ०३५ र ०३८ सालमा प्रधानमन्त्री बनेका थापा प्रजातन्त्र स्थापनापछि पनि २०५४ र २०५९ सालमा मुलुकको प्रधानमन्त्री बन्नुभएको थियो । संविधानसभाका जेष्ठ सदस्य थापाले संविधानसभा अध्यक्ष र सभामुखको निर्वाचन हुनु पूर्व त्यसको अध्यक्षता समेत गर्नूभएको थियो । राप्रपाको अध्यक्षमा पशुपति समशेर राणा चुनिएपछि असन्तुष्ट थापाले तात्कालिन समयमा आफ्नै नेतृत्वमा राष्ट्रिय जनशक्ति पार्टी गठन गर्नुभएको थियो । थापा, पछिल्लो समय समेत राप्रपा नेपालसँग एकीकरणका लागि सक्रिय हुनुहुन्थ्यो ।  


आफ्नै छोरा सुनिलकुमार थापालाई उद्योगमन्त्री बनाएपछि थापा पार्टी भित्र आलोचित बन्नु भएको थियो । पार्टी भित्रको विवादका कारण राप्रपा भित्र पहिलो पटक संसदीय दलको नेता चयनका लागि निर्वाचन भएको थियो । राष्ट्रिय जनशक्ति पार्टी र राप्रपाबीच एकीकरणका समय आलोपालो अध्यक्षता गर्ने गरी भएको सहमति बिपरित थापाले अध्यक्षता नछाडेको भन्दै अर्का नेता लोकेन्द्रबहादुर चन्दसँग विवाद भएपछि मुद्दा निर्वाचन आयोगसम्म पुगेको थियो । विवाद समाधानको मध्यमार्गी बिकल्प निकाल्दै बरिष्ठ नेता थापाले अध्यक्षता पशुपति समशेर राणालाई सुम्पिनु भएको थियो ।