जाजरकोटमा सरकारको चरम लापरवाही
काठमाडौं, २ बैशाख ।
जाजरकोटमा फैलिएको संक्रमणबाट आज थप एक जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १७ पुगेको छ । टालेगाउँ गाउँ विकास समिति वडा नम्बर सातका ६५ वर्षका दलबहादुर शाहीको मृत्यु भएको हो । टालेगाउँमा एकसय ५० जनाभन्दा बढी बिरामी परेका छन् । उपचारका लागि मिसन अस्पताल चौरजहारी रुकुम र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरबाट थप स्वास्थ्यकर्मी झिकाउने विषयमा छलफल भैरहेको हाम्रा सुर्खेत सहकर्मी ललित बुढाले जानकारी दिनुभयो ।
महामारीबाट संक्रमित मध्ये १२ जनाको स्वास्थ्य परीक्षणका गर्दा तीन जनामा भने स्वाइन फ्लुका जीवाणु भेटिएका छन् । अन्यको रिर्पोट आउन बाँकी छ । झन्डै दुई हप्तादेखि फैलिएको महामारीबाट १७ जनाको मृत्यु भैसकेको छ भने हजारौं विरामी परेका छन । यसैबीच सकारले औषधिउपचारको राम्रो प्रवन्ध मिलाएको बताएपनि प्रभावित क्षेत्रमा अझै औषधि पुग्न सकेको छैन । जिल्ला सदरमुकामबाट आजमात्र औषधि सहितको टोली प्रभावित क्षेत्र तर्फ पठाउने तयारी भईरहेको जिल्ला जनस्वास्थ्य कार्यालयका एक कर्मचारीले बताए । प्रभावित स्थान सदुरमुकामबाट २ दिनको पैदल दुरीमा पर्दछ ।