Live Streaming

बुढानिलकण्ठ महोत्सव सकिदै, बिस्केट सुरु

काठमाडौं, १ बैशाख ।
४ दिनसम्म मनाइने काठमाडौँ टोखाको प्रसिद्ध बिस्केट जात्रा आज सुरु भएको छ ।
प्रत्येक वर्ष वैशाख १ गतेदेखि सुरु हुने जात्रामा पञ्चबलीसहित  विभिन्न देवदेवीका खटजात्रा तथा पूजा गर्ने परम्परा छ ।
स्थानीय चण्डेश्वरीमा ध्वजापताकाले सजाएर हाँस, बोका, राँगालगायतको बलि दिने गरिन्छ । यसैक्रममा स्थानीय बज्रयोगिनी, चण्डेश्वरीको विशेष पूजा गरिने यस जात्रामा जीवित देवी कुमारी, गणेश र नारायणको समेत पूजा र सिन्दूर जात्रा गरी भजन कीर्तन गरिन्छ ।
यस्तै भक्तपुरमा प्रत्येक नयाँवर्षमा परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाइने विस्केट जात्रा आज बिहानैदेखि सुरु भएको छ । भक्तपुरको भेलुखेलमा हिजो राति पौने १० बजे उठाइएको लिंगो जात्रा हेर्न भक्तपुर, काठमाडौं, ललितपुर, काभ्रे लगायतका क्षेत्रबाट आएका हजारौं मानिसको आज बिहानै देखि भीड लागेको छ । गःहिटीमा रहेको भैरवलाई बली चढाई गुठी संस्थानद्वारा सरकारी पूजा गरेपछि भैरव र भद्रकालीको रथलाई भेलुखेल पु¥याउने बित्तिकै ५५ हात लामो ईन्द्रध्वजा सहितको लिंगो उभ्याउने परम्परा छ । चैत्र मसान्तमा ईन्द्रध्वजा सहितको लिंगो उठाउने र आज दिनभर भव्य मेला गरी बेलुका लिंगो ढाल्ने गरिन्छ । यो जात्रा हेरेमा मनोकांक्ष पुरा हुने, शत्रु नाश हुने जनविश्वास रहेको छ । लिच्छवीकालदेखि विस्केट जात्राको चार दिन अगाडि भैरव र भद्रकालीको रथ तानेर सुरु गरिने यो जात्रा भक्तपुरका बासिन्दाले नौ दिन आठ रात सम्म मनाउने गर्दछन ।

यता, नयाँ वर्षको अवसरमा  ‘प्रथम बुढानीलकण्ठ महोत्सव’  काठमाण्डौस्थित बुढानिलकण्डमा भइरहेको छ । ‘हाम्रो बुढानीलकण्ठ, राम्रो बुढानीलकण्ठ, जाऔँ है बुढानीलकण्ठ’ भन्ने मूल नाराका साथ बुढानीलकण्ठ क्षेत्र विकास समितिले महोत्सव आयोजना गरेको हो । महोत्सवमा आठ सय किलोग्रामको आठ फिट उचाइ तथा १२ फिट लम्बाइ भएको पित्तलको डमरु राखिएको छ ।