Live Streaming

महाकालीमा पानीको बहाव एक लाख ६० हजार क्युसेक

भीमदत्तनगर : बिहीबार बिहानैदेखि भइरहेको अविरल वर्षासँगै पश्चिम महाकाली नदीमा पनि पानीको बहाव बढ्दै गएको छ । वर्षासँगै महाकाली नदीमा आएको बाढीका कारण दार्चुलामा एउटा घर बगाएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । वि.सं. २०७० मा आएको विनासकारी बाढीबाट क्षति पुगेको दार्चुलाको अपि नगरपालिका–११ बङगाबगडमा एउटा घर बगाएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी प्रेमसिंह कुवँरले जानकारी दिए ।

त्यसैगरी दार्चुलामा महाकाली नदी किनारमा तटबन्ध निर्माणका लागि राखिएका केही बोरा सिमेन्ट र मिक्चर मेसिनसमेत महाकालीको बाढीले बगाएको खबर आएको उनले बताए ।
महाकालीमा पानीको बहाव बढेपछि पश्चिमीनाका गड्डाचौकी भएर भारत प्रवेश निषेध गरिएको छ ।शारदा ब्यारेज (बनबासा पुल) मा चारपाङ्ग्रे सवारी साधनलाई आवतजावत गर्न बिहानैदेखि निषेध गरिएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक राजेन्द्र चन्दले जानकारी दिए ।

शुक्रबार बिहान ६ बजे गरिएको मापनअनुसार महाकाली नदीमा पानीको बहाव एक लाख ६० हजार ८ सय ८० क्युसेक पुगेको छ । बनबासा पुल जिर्ण अवस्थामा रहेकाले भारतीय पक्षले एक लाख क्युसेक पानी पुग्नासाथा आवागमनमा रोक लगाउने गर्दछ ।'धेरै ठाउँमा तटबन्ध बनिरहेकाले अहिले नै धेरै खतराको स्थिति छैन ' चन्दले भने, 'किनारका बस्तीहरूलाई सचेत गराएका छौँ ।'

दार्चुलाकै छाङ्गु प्राथमिक विद्यालयसमेत बाढीका खतरामा परेको छ । विद्यालय छेउमा बिहीबार कटान गर्न थालेपछि त्यहाँ अस्थायी तटबन्ध निर्माण गरिएको छ ।प्रमुख जिल्ला अधिकारी कुवँरले वर्षा नरोकिएकाले सुरक्षा निकायलाई खटाएर महाकाली किनारका बस्तीहरूलाई सतर्क रहन आग्रह गरिएको बताए । रासस