त्यो-जो जसरी आएको थियो, त्यसरी नै गयो
30 Apr 2018 | 00:00 AM

सिद्धार्थ गौतमबारे सोच्दा छक्कै पर्छु, जन्मको २५ सय वर्षपछि पनि कोही मानिस कसरी यसरी ‘सुपर हिट’ भएर बस्न सकेको होला ! 

के तपाईं भन्न सक्नुहुन्छ, आजभन्दा १० वर्षअघि दुनियाँको सबैभन्दा शक्तिशाली मानिस को थियो ? सबैभन्दा बिकेको किताब कुन थियो ? विश्वसुन्दरी को थिइन् ? सबैभन्दा धनी को थियो ? सुपरस्टार को थियो ? 

नसोची, नखोजी भन्न सक्नु भएन नि है ! सक्ने कुरा पनि थिएन । संसारमा देखिने हरसफलता र विफलता, समयकालको उत्पादन मात्र हो । हामी सबै, हाम्रा कुरा सबै एक निश्चित समय सीमाका साथ बाँधिएका छन् । उपलब्धि वा अनुपलब्धि, दुवैका रंग जतिसुकै गाढा भए पनि विस्तारै फिक्का पर्न थाल्छन् । १० वर्षअघिको ‘हिट’ मान्छे सम्झन त गाह्रो छ है !   

तर, जन्मको यत्तिका शताब्दीहरू पछि पनि सिद्धार्थ गौतमको चमकमा रत्तिभर कमी आएको छैन । उनको उज्यालो त झन्झन् बढ्दै पो छ त ! त्यो उज्यालोको छायामा बस्न चाहने मानिसको संख्या संसारमा हरदिन बढ्दो छ । 

बुद्ध त्यस्ता हुन् जसले आफूकहाँ आउनेसित ‘श्रद्धा’को एड्भान्स माग्दैनन् । बुद्ध त त्यस्ता हुन् जसले यो पनि भन्दैनन् ‘पहिला तिमी मप्रति श्रद्धा र विश्वासको किरिया खाऊ, अनि मात्र दिउँला । आस्थाको ‘पूर्वभुक्तानी’ गर अनि शिक्षा दिउँला । मेरा अगाडि शिर नुहाऊ, अनि मात्र मेरो दिउँला ।’

उनले त बरु सीधा शब्दमा भनेका छन्, ‘हे भिक्षु ! मैले भनेको भन्दैमा तिमीले केही पनि मान्नु पर्दैन । मेरा शब्दलाई आगोमा जलाएर, पानीमा डुबाएर र आकाशमा उडाएर हेर । त्यसपछि मात्र विश्वास गर ।’ 

उनले यति भन्दाभन्दै पनि, रोक्दारोक्दै पनि, एक दिन यस्तो आउँछ, जब साधकको शीर स्वतः निहुरिन्छ, बुद्धका प्रति प्रेमका कारण, अनुग्रहले भरिएर ।

गौतम बुद्ध आज झन् बढी सान्दर्भिक, झन् बढी ताजा प्रमाणित भएका छन् । यही ताजगीको खोजीमा आज परम्परागत मात्र होइन, आधुनिक संसारका पढेलेखेका एक–से–एक मानिसको ठूलो हिस्सा बुद्धप्रति आकर्षित भएको छ ।   

आज वैशाखको पूर्णिमा हो । वैशाखको पूर्ण चन्द्रसँग सिद्धार्थ गौतमको जीवन लोभलाग्दो किसिमले जोडिएको छ । वैशाख पूर्णिमाकै दिन सिद्धार्थले संसारमा जन्म लिए । वैशाख पूर्णिमाकै दिन उनी ज्ञान पाएर बुद्ध भए । र, कालान्तरमा वैशाख पूर्णिमाकै शुभ साइतमा उनी यो संसारबाट बिदा भए । 

तर, संसारबाट बिदा हुनुअघि उनले दिएको शिक्षा आज पनि त्यत्तिकै सान्दर्भिक छ, जति हिजोका दिनमा थियो । तुलना गरेको नठानियोस्, अन्य कतिपय धार्मिक र आध्यात्मिक गुरुको शिक्षा एक निश्चित कालखण्डपछि ‘आउट डेटेड’जस्तो प्रतीत हुन थाल्छ । समाजको वर्तमानसँग तिनको डोरी चुँडिएको पो हो कि भन्ने शंका हुन थाल्छ । तर, गौतम बुद्धका चाहिँ हमेशा ‘ताजा’ महसुस हुन्छन् । आज पनि उनी त्यति नै ‘ताजा’ लाग्छन् जति हिजो थिए वा जति भोलि हुनेछन् । 

साँच्चै भन्ने हो भने गौतम बुद्ध आज झन् बढी सान्दर्भिक, झन् बढी ताजा प्रमाणित भएका छन् । यही ताजगीको खोजीमा आज परम्परागत मात्र होइन, आधुनिक संसारको पढेलेखेका एक–से–एक मानिसको ठूलो हिस्सा बुद्धका प्रति आकर्षित भएको छ ।   

आज बुद्ध जयन्तीको अवसरमा बुद्ध जन्मभूमि नेपालमा हामीले केही नयाँ संकल्प गर्ने बेला पनि हो । ‘बुद्ध वाज बर्न इन् नेपाल’ भनेर मात्र हाम्रो कर्तव्य पूरा हुँदैन । ‘बुद्ध नेपालमा जन्मेका थिए’ भन्दैमा पुग्दैन । यदि बुद्धलाई हामी साँच्चिकै आफ्नो मान्छौं भने, उनका प्रति न्यूनतम कर्तव्य पूरा गर्ने जिम्मेवारीबाट हामी भाग्न पाउँदैनौं । बुद्धप्रति आफ्नो हक जनाउँदा हामी जुन आवाजमा नाराबाजी गर्छौँ, उनका प्रति न्यूनतम कर्तव्य पूरा गर्ने बेला चाहिँ हाम्रो थुतुनो खुल्न गाह्रो मान्छ ।   

लुम्बिनी विकास गुरुयोजना सुरु भएको यत्तिका दशकपछि पनि बुद्ध जन्मभूमि लुम्बिनीको जुन हालत छ, त्यहाँ पुग्ने सडकको जस्तो अवस्था छ, बुद्ध जन्मभूमि वरिपरि नै खुलेआम मांसाहार र मदिरापनको जस्तो सुविधा छ, देशभरि रहेका गुम्बाहरूको जुन अवस्था छ, भूकम्पले भत्केका–चर्केका गुम्बाको जुन अवस्था छ, त्यो कसैबाट छिपेको छैन ।

आज जे–जति थोरधेर जे भएको छ, त्यसमा सरकारको भन्दा बौद्धमार्गी सहयोगी हातको कयौं गुणा योगदान छ । नेपालका बौद्धमार्गी र तिब्बती लामाहरूको निजी योगदानले गर्दा केही काम नभएका होइनन् । तर, ती पर्याप्त छैनन् । बुद्ध जन्मभूमिप्रति सरकार र समाजको दायित्व एकदिने गोष्ठी र नाराबाजीले मात्र पूरा हुन सक्दैन । 

हामी  हिमाल र बुद्ध दुईथोकमा सर्वाधिक गर्व गर्छौं । तर, अपवादबाहेक हामी कुनै पनि हिमालको चुचोरो मुस्किलले चिन्छौं । बुद्धले के भनेका थिए ? कहाँ भनेका थिए ? उनको शिक्षा कस्तो प्रकारको थियो ? कति प्रकारको थियो ? हामीलाई सायदै थाहा होला । 

हाम्रो शिक्षा प्रणालीमा र पाठ्यपुस्तकमा बौद्ध शिक्षा र दर्शनको उपस्थिति हामीले बुद्धबारे संसारभरि लगाउने धाकको तुलनामा ज्यादै होचो छ । बुद्ध जन्मेको देशमा बौद्ध अध्ययन केन्द्रहरूको संख्या शून्यप्रायः छ । यी सब थोकमा सरकारले ध्यान नपुर्याई भएको छैन । यी कामहरू हामीले गौतम बुद्धका लागि होइन, आफू र आफ्नो सन्ततिको सुख–सन्तोषका लागि पनि गर्नुपर्छ । 

गौतम बुद्ध २५ सय वर्षपछि पनि संसारमा यति ‘सुपर हिट’ छन् किनभने उनको शिक्षा र त्यसको ‘ध्यान’का माध्यमबाट त्यसको अभ्यास मानव जीवनको आधारभूत प्रकृतिसँग जोडिएको छ । बोधी धर्मको हल्का छायामात्रले पनि मानिसको जीवनलाई बढी आनन्दित तुल्याइदिन्छ, किनभने यो प्राणीको आधारभूत विज्ञानसँग जोडिएको छ भन्ने विषयका वैज्ञानिक प्रमाणहरू धमाधम थपिँदै पनि छन् ।

हामी  हिमाल र बुद्ध दुईथोकमा सर्वाधिक गर्व गर्छौं । तर, अपवादबाहेक हामी कुनै पनि हिमालको चुचोरो मुस्किलले चिन्छौं । बुद्धले के भनेका थिए ? कहाँ भनेका थिए ? उनको शिक्षा कस्तो प्रकारको थियो ? कति प्रकारको थियो ? हामीलाई सायदै थाहा होला । 

बुद्धका सम्बन्धमा ओशोका शब्द हृदयस्पर्शी छन्, ‘बुद्ध जन्मको साथै, मनुष्य–जातिको एक नयाँ अध्याय सुरु भयो । २५ सय वर्ष पहिला बुद्धले जे भने आज पनि सार्थक महसुस हुन्छ, आउने सयकडौं वर्षहरूसम्म पनि सार्थक रहनेछ । बुद्धले जीवन, यसका समस्या र समाधानको जसरी सूक्ष्म विश्लेषण गर्नुभयो, त्यो न पहिला कहिल्यै गरिएको थियो, न कसैले गर्न सकेको छ । बुद्धले जीवनका समस्याहरूको उत्तर कुनै शास्त्रको आधारबाट दिनु भएन । सटिक विश्लेषणका माध्यबाट दिनुभयो । यसैले बुद्धलाई धर्मको पहिलो वैज्ञानिक भन्न सकिन्छ । बुद्धको धर्म विश्लेषणको धर्म हो । तर, यो सुरु मात्र विश्लेषणबाट हुन्छ । समाप्त त्यसैमा हुँदैन...।’

संसारमा गौतम बुद्धका असंख्य प्रेमी छन् । हामी उनलाई ‘शाक्यमुनि बुद्ध’ भनेर पनि बोलाउँछौ । शाक्यमुनि बुद्ध आफूलाई चाहिँ के भनेर बोलाउँथे त ? भगवान बुद्ध आफूलाई ‘तथागत’ भनेर परिचय दिन्थे । ‘तथा’ र ‘गत’ मिलेर बनेको शब्द ‘तथागत’ ।

तथागत शब्दको अर्थ हुन्छ– ‘त्यो जो– जसरी आएको थियो, त्यसरी नै गयो ।’

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us